पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ ।    आज भएको खेलमा लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ सशत्र प्रहरीलाई मौका मिल्यो ।    सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकीले लुम्बिनीसँग जित निकाल्न नसक्दा यात्रा टुंगियो भने सशत्र प्रहरी बलले अन्तिम चारमा स्थान बनायो ।     सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो ।   मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य दिएको थियो ।      यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन् । दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए ।    उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो ।   ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो । अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो । भण्डारीले १६ रन बनाए ।   २२ बल खेल्दै ३ चौका हिर्काए । सुनारले २३ रन बनाउन २१ ब्ल खेले । २ चौका र १ छक्का हिर्काए । नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे । गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए ।   गौरभ विक र किरण पौडेललाई दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो । दिनेश बुढामगरले १३ रनको स्कोर बनाए ।   कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो । कमल परियार ११ रनमा आउट भए ।   मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए । लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए ।  

कास्की:    पोखरामा आज सम्पन्न नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बूको टोली च्याम्पियन बन्दै नगद रु तीन लाख ६० हजार पुरस्कार पायो ।  यसैगरी नेपालकै श्रेवी महर्जन, मुहेश थारू र वसन्त थारूको टोली द्वितीय भयो । उपविजेता टोलीले रु दुई लाख ८८ हजार पुरस्कार पायो । श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर (नेपाली सेना)को टोली तृतीय हुँदै रु दुई लाख १६ हजार पुरस्कार प्राप्त गर्न सफल भएको प्रतियोगिताका खेलाडी दर्ता एवं पुरस्कार संयोजक गोकर्ण कार्कीले जानकारी दिनुभयो । चिनियाँ टोली भने चौथो स्थानमा रहन सफल भयो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ टोली चौथो स्थानमा रहँदै रु एक लाख ४४ हजार पुरस्कार प्राप्त गरेको छ । यसैगरी ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बन्नुभयो । उहाँले रु एक लाख ४४ हजार पुरस्कार पाउनुभयो । बेदबहादुर सुनुवार द्वितीय हुँदै रु एक लाख आठ हजार पुरस्कार पाउनुभयो । तीर्थ तामाङ तृतीय र करन रावल चौथो हुनुभयो । उहाँहरूले क्रमशः रु ५४ हजार रु १८ हजार पुरस्कार पाउनुभयो । क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपालका १० टोली, चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद रु २५ हजार पुरस्कार पाउनुभयो । छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोकामगर द्वितीय र बादल कार्की तृतीय हुँदै जनही रु २० हजार पुरस्कार पाउनुभयो । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय हुँदै रु १५ हजार पुरस्कार पाउनुभयो ।  खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो ।

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय जना पाहुना २ साताका लागि पोखरा बस्ने गुरुङ्गले जनाए । एउटै प्रतियोगिता सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने गरेको संघ कास्कीका अध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाई थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न पनि झण्डै २५ लाख खर्चको अनुमान रहेको उनले बताए । नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, पोखरा महानगर लगायत विभिन्न सहयोगीहरुबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्र्दै सञ्चार क्षेत्रबाट सहयोग रहने बताए ।   

पोखरा:   पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।   जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए । दिनेश बुढामगरले ३३ बलमा २ चौका र १ छ क्कासहित २५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए । विजयी छक्का हानेका अमृता गुरुङ , रनमा नट आउट रहे । एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १/१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । एपीएफका कप्तान प्रदीप ऎरि २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४/१४ रनमा आउट भए । अरुण ऎरि र अमर रौटेलाले ५/५ रन वनाए । गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २÷२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १/१ विकेट लिए । समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । अन्यथा नेटरनरेटमा भर पर्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । समूह सि मा नेपाल पुलिस क्लब, मदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह डि मा आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।

पोखरा:  पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनल प्रवेश गरेको छ ।  बागमती प्रदेशले केपी ओली टी–२० कपमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।  बागमतीले समुह ए मा दुबै खेलमा जितका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस क्लब (रातो)लाई पराजित गरेको थियो ।  जितको लागि १ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २३ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए । कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका कप्तान सन्दीप लामिछानेले ३.३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले १(१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बागमतीको जितमा ओपनर रित गौतमले ५९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाएका थिए रितले पहिलो खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडविरुद ७४ रन बनाएका थिए । उनले सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका हुन् । दोस्रो विकेटका लागि रित र इशानले १ सय ४३ रनको साझेदारी गरेका थिए । नेपाली टोलीबाट खेली सकेका इशान पाण्डेले ३८ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको उत्कृष्ट इनिङ खेलेका थिए । ओपनर शुभ कान्सकार १२ बलमा ४ रन बनाउदै आउट भएका थिए । त्यसपछि ईशान र रितको साझेदारीले इनिङ उकासेका थिए । प्रतिश १२, प्रतीक श्रेष्ठ ७ र सन्दीप लामिछाने डक आउट भए । कर्णालीका दिनेश अधिकारीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए । बागमतीले सेमिफाइनलमा मंसिर १४ मा समूह डि को विजेतासँग खेल्नेछ । समूह डि मा आर्मी, कोशी प्रदेश र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा दशरथ रङ्गशालामा लिगको उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाण्डौ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ । खेल बेलुकी ६ बजे शुरु हुनेछ । पहिलो संस्करण कोभिड सङ्क्रमणको समयमा विना दर्शक आयोजना भएको थियो । आज हुने उद्घाटन समारोहमा गायक सुशान्त केसीले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।   यसपटक गएको संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल सङ्ख्या पनि बढेको छ । अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरी ९ टोलीले ४० खेल खेल्नेछन् ।   उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने  आयोजकले जनाएको छ । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । 

पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्र र खेलाडीहरु व्यवसायीक नभएसम्म खेलको गुणस्तर बढ्न नसक्ने बताएका छन् ।    पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।    ‘खेल क्षेत्रमा खेलाडी र युवाहरुलाई आर्कषित गर्दै र उत्कृष्ट खेलहरुको माध्यमबाट ज्यादा भन्दा ज्यादा दर्शकहरुलाई आर्कषित गर्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘खेललाई भोलि गएर व्यवसायिक रुपमा स्तरउन्नती गर्न सक्नुपर्छ, अहिले केही खेलहरु व्यवसायीक रुपमा अगाडी बढेको छ, जबसम्म खेल क्षेत्र र खेलाडीहरु व्यवसायीक बन्न सक्दैन् तबसम्म खेलको गुणस्तर बढ्न सक्दैन ।’     अध्यक्ष ओलीले देशमा समर्पित खेलाडीहरु र खेल क्षेत्र पूर्णरुपमा व्यवसायीक नबनेसम्म पूर्ण रुपमा अगाडी बढ्न नसक्ने समेत बताए ।    उनले क्रिकेट खेलाडीहरुलाई सरकारले घोषणा गरेको पुरस्कार रकम समयमा नै उपलब्ध गराउन नसकेको भन्दै गुनासो समेत गरे ।    ‘सरकारले क्रिकेट खेलाडीहरुलाई पुरस्कार रकम दिने घोषणा ग¥यो, पुरस्कार रकम खेलाडीहरुलाई सरकारले चाँडै नै उपलब्ध गराउन सकेन’, उनले भने, ‘पुरस्कार रकम समयमा नै नपाएपनि मनोवल नघटाई खेलिरहेको छन् ।’ नेकपा एमाले अध्यक्ष ओलीले क्रिकेट खेलमा अब नेपालले विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने समेत दाबी गरे ।    उनले नेकपाको सरकार हुँदा भुकम्पले क्षति पु¥याएको दशरथ रंगशालासँगै, पोखरा रंगशाला निर्माणमा काम गरेको बताए । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको निर्माणका लागि आफुले पहल गरिरहेको दावी समेत गरेका थिए ।    उट्घाटन खेलमा आयोजक रातोलाई बागमतीले  १ सय ९ रनले हराउदैजीत निकालेको छ ।   यसअघि टस हारेर ब्याटिङ थालेको आयोजकले १ सय ८५ को लक्ष्य पाएको थियो ।   

पोखरा:    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेश विरुद्ध फिल्डिङ गर्ने निर्णया गरेको छ ।  पोखरा रंगशालामा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेशलाई ब्याटिङको निम्तो दिएको हो ।  पोखरा रंगशालामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । आज एक खेल मात्र हुने आयोजकले जनाएको छ ।  प्रतियोगिता सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  मदन भण्डारी स्पोर्टस क्लब (रातो)को प्लेइङ: ११ (कप्तान)अमर मिश्र, अंकित बिएम, सुमित पराजुली, निर्मल थापा, निञ्चल गवाती, आरिफ खान, विजय प्रजापति, सन्तोष यादव, विप्रसन केसी, महेश बार, सन्देश थापा, सन्दिम मौरिया, सिजात आलम र रोशन गौतम । बागमति प्रदेशको प्लेइङ: ११ कप्तान)सन्दिप लामिछाने, शुभ कंशकार, आसुतोष गैरिया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इसान पाण्डे, सुवास खत्री, प्रतिक जिसी, रिजन ढकाल, रामनरेश गिरी  र दिपेश श्रेष्ठ ।

पोखरा:   पोखरामा आजदेखि केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुन लागेको केपी ओली कप राष्ट्रिय टी– २० प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् ।  मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोली सहभागि हुनेछन् । जसअन्तर्गत समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो रहेका छन् । हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले ३० हजार, ‘बेस्ट बलर’ ले २० हजार तथा ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।