पोखरा: पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् । प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसैगरी यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् । एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो । खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् । मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए । प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् । यसैगरी हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ । मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।
काठमाडौँ: चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् । बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् । एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । बलिङतर्फ नेपालकी सङ्गीता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई दुई विकेट लिइन् । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिइसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।
काठमाडौं: दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो । सातौं ओभरको पहिलो बलमा एडन मार्करमले वार्नरलाई बोल्ड गरे भने अर्को ओभरमा कगिसो रबाडाले मिशेल मार्शलाई शून्यमा पभेलियन फर्काए । लगातार विकेट गुमाएपछि रनको रफ्तार कम भयो र पावर प्लेको १० ओभरमा २ विकेट गुमाएर ७४ रन बनायो । खेलको १५औं ओभरमा जब बवुमाले केशव महराजलाई बल दिए, उनले पहिलो बलमै ट्रेविस हेडलाई बोल्ड गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र दुई छक्काको मदतमा ६२ रन बनाएका थिए । उनले स्मिथसँग तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । खेलको २२औं ओभरमा मार्नस लाबृशेनले स्मिथको विकेट लिए । दुई ओभरपछि शमसीले ग्लेन म्याक्सबेललाई आउट गरेपछि अष्ट्रेलियाले १३७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुुमायो । त्यसपछिको १० ओभरमा उसले विकेट गुमाएन, रन पनि ३७ मात्र थप्न सक्यो । खेलको ३४औं मिनेटमा स्मिथ आउट भए । अन्तिममा कप्तान प्याट कमिन्सले आठौं विकेटका लागि मिचेल स्टार्कसँग अविजित २२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।
काठमाडौं: फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे । खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए । दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो । १० औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । १३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए । २९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन । ३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो । युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए । दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाए । ७९औं मिनेटमा मोहम्मद अल-ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औं मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औं मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए । खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे । नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।
काठमाडौं: फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।
स्याङ्जा: मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्झनामा आज (बिहीबार) प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ । गण्डकी प्रदेश भलिबल सङ्घले गण्डकी प्रदेश भरिका भलिबल प्रतियोगिता सबै स्थगित गर्ने जनाएको हो । सङ्घका अध्यक्ष नवीन गुरुङले भलिबल क्षेत्रमै अतुलनीय क्षति पुगेको बताउदै थापाको सम्झनामा भलिबल प्रतियोगिता स्थगित गरिएको बताए । चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
काठमाडौं: भारत आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो । जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन वनाएपनी टोलीलाई जिताउन सकेनन् । केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भए । केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए । भारतलाई सुरुवातमा मोहम्मद शामीले दुबै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दुबै ओपनर रचिन रबिन्द्र र डेभन कन्वे एज लागेर विकेटकिपर लोकेश राहुलबाट समान १३ रनमा क्याच आउट भएका थिए । ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो गर्न सकेनन् । शामीको ३३ औं ओभरको दोस्रो बलमा विलियम्सन सुर्यकुमार यादव बाट क्याच भएपछि जितको सम्भावना टाढिएको थियो । भारतका मोहम्मद शामीले ९।५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो । भारतको जितमा युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए । विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । कोहलीको यो ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् । भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए । पहिलो विकेटका लगि रोहित र गिलले ९।२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि गिल र कोहलीले ९३ रनको साझेदारी गरेका थिए । त्यसपछि कोहली र ऎरले १ सय २८ बलमा १ सय ६३ रनको सानदार शतकिय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । युवा ब्याटर शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहे । गिल ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। लोकेश राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनल बिहिबार हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।
काठमाडौँ: हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो । नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे । ब्याटिङतर्फ कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन् । सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन् । उक्त खेलमा दुबै टोलीका अन्य कुनै ब्याट्रले छक्का प्रहार गर्न सकेनन् । यसदेखि वाहेक नेपालका लागि कप्तान इन्दू बर्माले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन् । नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन् । इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन् । उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन् । खुसी डंगोल शून्य रनमा अविजित रहिन् । तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन् । निमा पियुषले दुई विकेट हात पारिन् । आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक—एक विकेट लिए । नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ । सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ ।

