पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:  दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ ।  कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।  पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।  ब्याइज यू १७ तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्ते पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।  त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।  यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।  कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।  प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   

पोखरा:   अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ । मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए ।  अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । त्यसका लागि टेण्डर आव्हान् भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको उनले बताए ।  मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्साकस्सी र घैंटो फुटाउने प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरूष भलिबल प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरूङले जानकारी दिए । बास्केटबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । भलिबलमा १२ र बास्केटबलमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष गुरूङले जानकारी दिए ।  मेलाको पहिलो दिन बिहीबार साँझ अन्नपूर्ण ब्याण्ड छोम्रोङमा गुञ्जियो । बाँकी दिन लोकदोहोरी कलाकार र आदिम कला मञ्चले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।   

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो। पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै,  उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । 

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी छ ।    माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्स तर्फ नेपालका नं १ बरियता खेलाडी प्रदिप खड्काले आफ्नो दोश्रो जित निकालेका छन् । प्रदिपले दर्शिल श्रेष्ठलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका हुन् ।   सम्यक बज्रचार्यले आरभ सम्राट हाडालाई ६–३, ६–४ ले पाखा लगाउँदा प्रणब मानन्धरले निहाल जङ्ग बहादुर थापालाई  ६–४, ४–६, ६–० ले र अभिनन्सु ठाकुरले राजविर प्रधानलाई ६–२, ६–३ ले पराजित गरे ।    मेन्स डबल्स तर्फ सम्पन्न खेलमा प्रणब मानन्धर र राजविर प्रधानको जोडीले ज्वेल राणा र दर्शिल श्रेष्ठको जोडी माथी ६–०, ६–४ ले जित निकाल्दा संरक्षक र सम्यक बज्रचार्यको जोडीले शास्वत र सृजन भट्टराईको जोडीलाई ६–०, ६–१ ले, आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीले सक्षम र प्रितम परियारको जोडीलाई ६–४, ६–१ ले, आशिष र सौगात विकको जोडीले मिन बहादुर र कुशल गुरुङको जोडी माथी ६–०, ६–१ ले जित दर्ता गरेका छन् ।   अभिनन्सु ठाकुर र शिद्धान्तको जोडीले निशाद र देवाशिस रियुलको जोडीलाई ६–०, ६–० को सोझो सेटमा तथा गोविन्द र युगेन शेर्पाको जोडीले आयुष्मान र शक्तिको जोडीलाई ६–४, ०–६ र १३–११ ले संघर्षपूर्ण जित निकालेका छन् ।    ३५ वर्ष माथिको सिंगल्समा जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–० ले, सञ्जय श्रेष्ठले नवराज शर्मालाई ६–३, ६–२ ले, दावा सोनाम शेर्पाले अमित गुरुङलाई ६–०, ६–१ ले र सन्तोष खत्रीले व्रिजेश लाकोलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।    ३५ वर्ष माथीको डबल्समा राज गुरुङ र विकास गुरुङको जोडीले भिष्मराज पौडेल र नवराज शर्माको जोडी माथी ९–६, ६–३ र १०–७ ले संघर्षपूर्ण जित निकालेको छ । त्यसै गरि अनिल र सिमान्तको जोडीले दुर्गा केसी र सुकमानको जोडी माथी ६–३, ६–३ ले, कमल भण्डारी र अमित गुरुङले प्रकाश राज वाग्ले र लक्ष्मण तामाङको जोडीलाई ६–१, ६–० ले पराजित गरे ।    ४५ वर्ष माथी सिंगल्समा विकास गुरुङले राम बहादुर विकलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दा, विष्णु चापागाईले बुद्धि गुरुङलाई वाक आउट दिएका छन् ।   प्रदिप शाहले सुकमान तामाङलाई ६–१, ६–१ ले पराजित गरे भने माधव भण्डारीले थम आलेलाई ६–६, ६–३ र १०–३ ले, निम बहादुर पुनले प्रताप मोक्तानलाई १–६, ६–० र १०–६ ले, अमृत कार्कीले बलराम सापकोटालाई ६–३, ६–३ ले, उत्तम बोगोटीले मनिष श्रेष्ठलाई ६–२, ६–१ को सोझो सेटमा जित निकालेका छन् ।    ४५ वर्ष उमेर समुहको डबल्समा हिमाल र सुदर्शनको जोडीले शुक्र र विरेन्द्र लामाको जोडीलाई ६–१, ६–० ले, मछिन्द्र थापा र विपिनको जोडीले किम र तेज लीको जोडीलाई ६–७, ७–६ र १०–८ ले पराजित गरे । राज गुरुङ र केवी तामाङको जोडीले मनोज नेपाल र विष्णु चापागाईको जोडीलाई ६–१, ६–२ ले जित्दै आफ्नो यात्रा अघि बढाएका छन् ।   रोहित र इव्राहिम मुस्लिमको जोडीले मछिन्द्र र विपिनको जोडीलाई ६–२, ६–२ ले, आशिष र निमाको जोडीले विरेन्द्र लामा र सूर्य भुजेलको जोडीलाई ६–२, ६–२ले पाखा लगाए भने कृष्ण र सुवर्णको जोडीले राम विक र मनोज बस्नेतको जोडीमाथी ६–० र ६–१ ले जित निकाल्दा र धरम सिंह लामिछाने र गोपी भट्टराईको जोडीले करिम र सोम लालचनको जोडी माथी ६–२, ७–५ ले जित निकालेका छन् ।    ५५ वर्ष माथी सिंगल्समा ऋषीराम पञ्डितले पेम्वा तासीलाई वाक आउट दिएका छन् भने राम रानाले जाङवो शेर्पालाई ६–०, ६–३ ले पराजित गरे ।   हर्क बहादुर गुरुङले सुरेन्द्र माकाजुलाई ६–४, ६–१ को जित निकाल्दा एक अर्को खेलमा सुनिल गुरुङले पदम गुरुङलाई पराजित गरे । त्यसै वाक आउटकै आधार जित निकाल्दै डियोनम लामा र मोती घले दोश्रो चरणमा प्रवेश गरेका छन् । सोही उमेर समुहको सिंगल्समा धरम सिंह लामिछाने शुक्र शेरचनलाई ३–६, ६–० र १०–४ ले पराजित गरेका छन् ।    ६५ वर्ष माथी सिंगल्समा मनोज शम्सेर जङ्ग बहादुर राणाले विष्णु गुरुङलाई ४–०, ४–१ को सेटमा पराजित गरे भने ध्रुव गुरुङले पेम्वा ताशीलाई ४–१, ४–१ ले, कर्म घलेले डियोनम लामालाई ४–१, ५–३ ले पराजित गरेका छन् ।  प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।   प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   प्रतियोगिता सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने उनले जानकारी दिए ।  

पोखरा:    गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ ।  पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेचर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरेका थिए ।  प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश केसीलाई (५७ केजी फेदरवेट) मा हराए । यस्तै राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङलाई (५५ केजी सुपर वेन्टमवेट), एरावान मुवाँथाईँ फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङलाई (६० केजी लाइट वेट), हिट मुवाँथाईका मिलन तामाङले लेखनाथ डोजो मुवाँथाईका मोस्सेस कुमाललाई (६३ सुपर लाइटवेट), सर्लाही मुवाँथाईका धर्मिन्दर रामले रकस्टार मुवाँथाईका प्रविन राईलाई (५५ केजी सेपर वेन्टमवेट), स्ट्रोङगेस्टकी सुस्मा चौधरीले एरवान मुवाँथाई फाइकी रजिना विष्टलाई (५० केजी फ्लाइवेट) र जिमखाना मुवाँथाईका करण बर्जाचार्यले स्ट्रोङगेस्टका रोहित मगरलाई (६० केजी लाइटवेट) मा हराउँदै विजेता बने ।  सेमी–प्रो फाइटमा इस्ट्रोङगेस्टका रमित महर्जनले सोही मुवाँथाईका सुरेश नेपाली (किडफाइट), एपिएफका पेम्बा छिरिङले अल फाइट सिस्टम अर्गनाइजेसनका कर्णबहादुर मगराती (६० सुपर फेदरवेट), एपिएफकी रिना माझिले नेपाल मुवाँथाईकी ज्योती मल्ल (४५ केर्जी पिनवेट), स्ट्रोङगेस्टका सागर परियारले सिङ मुवाँथाईका गौतम थिङलाई (६३ सुपर लाइटवेट), पोखरा फाइट क्लबका रोनिस मगरले माउन्टेन मुवाँथाईका हविल तमाङलाई (५७ केजी फेदरवेट), अलफाइट सिस्टम अर्गनाइजेसनका रोशन अछामीले स्ट्रोङगेस्ट अनिस मगरलाई (५० केजी फ्लाइवेट), नेपाल मुवाँथाईका दिपेश गुरुङले टोटल फिजिकल फिट्नेसका सरोज तामाङलाई (५५ केजी सुपर वेन्टमवेट) हराउँदै विजेता बने । यस्तै एमेचर किड फाइटमा स्ट्रोङगेस्ट मुवाँथाईका रोहम नेपालले सोही क्लबका दृष्टान्त चालिसेलाई, एलाईट मुवाँथाईका विपिनजंग सुनारले व्यामशालाका तेन्जिङ जिन्पालाई (६० केजी सुपर फेदरवेट) हराउँदै विजेता बने । उनीहरु सबैेले नगद सहित मेडल र गिफ्ट प्राप्त गरे ।  प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा पर्यटकको मात्र नभई खेलकुदको समेत राजधानी भएको सुनाए । उनले पर्यटन प्रवद्र्धनका लागि मुवाँथाई खेल समेत फेवातालको किनारमा गर्दा निकै खुसी लागेको धारणा व्यक्त गरे । उनले खेलाडीहरूलाई प्रशिक्षा गराउँदा आवास गृहमै राख्ने व्यवस्थापन गर्न आवश्यकता रहेको औल्याए । राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै बन्द प्रशिक्षणमा रहँदा खेलाडीहरु होटलमा बस्नुपर्ने स्थितिले धेरै खर्चिलो भएकाले अब सरकारले खेलाडीका लागि आवास गृहको स्थापना गर्ने सुनाएका हुन् । उक्त विषयमा प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीलाई खेलाडीहरूको प्रशिक्षण गराउँदा अब होटलमा राखेर नभई आवास गृहमै राखेर प्रशिक्षण गराउँदा राम्रो नतिजा ल्याउन सक्ने विषयमा छलफल गरी आवश्यक कार्यलाई अघि बढाउने तयारी भइरहेको समेत जानकारी दिए ।  नेपाली खेलको विकास राज्यलेमात्रै गरेर नहुने भन्दै यसमा नीजि क्षेत्र जोडिन आवश्यक रहेको उनको भनाई थियो । खेलाडीहरूले प्राप्त गर्ने सुविधाहरूको विषयमा सरकार गम्भीर भएको मन्त्री लिम्बुले बताए ।  गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले आगामी वर्ष मुवाँथाईको झन ठूलो खेल आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । खेलकुद क्षेत्रलाई अझ भव्य र सभ्य बनाउँदै खेलकुद क्षेत्रमा धेरै सुधार गर्दै लैजाने उनले सुनाइन् । प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यावसायिक फाइटरहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।  

पोखरा: नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य समेत रहेका स्व. गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन ।  आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे ।  मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व. गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नाममा सहयोग गर्न लागेको सुनाए ।  ‘बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदै खुसी छु । यो संस्थाले राम्रो गर्नुभएको रहेछ । म पनि खेल प्रति चासो राख्ने गर्दछु र मलाई अपांगता भएका व्यक्तिहरुलाई सहयोग गन निकै मन पर्छ’ उनले भने, ‘नसक्नेहरु पनि रमाइलो गरोस् भन्ने चाहान्छु  । मेरो लक्ष्य बुबाको नाममा केही गर्छु भन्नेछ र म पाँच वर्षका लागि ह्विचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार दिन चाहान्छु ।’ उनले मञ्चको आजिवन सदस्य समेत लिएका छन् । देवान क्योकुसिन कान कराते खेलाडी समेत हुन् ।  मञ्चका अध्यक्ष हरिपराजुलीले अग्रज खेलाडीहरुले स्थापना गरेको संस्थाले उचाइ छुदैँगर्दा स्व। गंगा गुरुङको समेत योगदान रहेको सुनाए । उनले आजिवन सदस्यहरुका परिवारलाई समेत मञ्चले जोड्ने चाहाना रहेको र थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्व। गुरुङको भिजन र खेल तथा संस्थाप्रतिको योगदानको कदर गर्दै उनको स्मृतिमा पुरस्कार प्रायोजन गरेकोमा धन्यवाद दिए ।  मञ्चका निवर्तमान अध्यक्ष तथा सफल पोखरा म्याराथनका अन्तर्राष्ट्रिय समन्वय संयोजक तेज गुरुङले संस्थाको बारेमा जानकारी दिदैँ संस्था बनाउने अग्रजका परिवारहरु यसबाट टाढा रहन नसक्ने बताए । उनले संस्था पूर्व खेलाडीहरुको साझा घर भएकाले यसको प्रतिष्ठासँग सबै जोडिने सुनाए । मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङ र संस्थाका आजिवन सदस्य कमल गुरुङको समेत उपस्थिति रहेको थियो ।  मञ्चले फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्दैछ । म्याराथनमा १२ वटा इभेन्टहरु हुनेछन् ।

पोखरा:   सैनिक आवसीय मावि २१ वटा पदक जितेर पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा चौंथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०८० को च्याम्पियन बनेको छ ।  तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कास्यसहित सैनिक च्याम्पियन बनेको हो । सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ शिल्ड प्रदान गरे । कालिका मावि ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक पाएर उपविजेता बनेको छ । ५ स्वर्ण, ३ रजत र १ कास्यसहित ९ पदक जितेर शहिद स्मृति मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । कालिका र शहिद स्मृति माविले ट्रफी प्राप्त गरे । टिम इभेन्टतर्फ छात्र भलिबलमा गुरुकुल मावि प्रथम, कालिका मावि द्वितीय र न्यू ग्यालेक्सी स्कुल तृतीय भएको आयोजकले जनाएको छ । भलिबल छात्रामा जनप्रिय मावि प्रथम, शान्त मावि द्वितीय र कन्या मावि तृतीय भएको खड्काले जानकारी दिए ।  भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशस २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए । छात्र कबड्डीमा बेथानी बोर्डिङ प्रथम, कालिका मावि(१० द्वितीय, अमरसिंह मावि र त्रिभुवन शान्ति मावि तृतीय भएका छन् । छात्रा कबड्डीमा रामेश्वरी मावि प्रथम, गौरीशंकर मावि द्वितीय, बेथानी मावि र कालिका मावि–१० तृतीय भएको सदस्य सचिव खड्काले जानकारी दिए । कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशस १५ हजार, १० हजार र  २५र२५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।   पोखराका १ सय १० विद्यालयका ३ हजार २०५ विद्यार्थी ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि प्रतिस्पर्धामा सहभागी थिए । भलिबल छात्ररछात्रा, कबड्डी छात्ररछात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल प्रतियोगितामा भएका थिए । यो प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी छनोट गरेर १३ र १४ पुसमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा महानगरपालिकाकोतर्फबाट सहभागी हुने सदस्य सचिव खड्काले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङले समयसमयमा प्रतियोगिता गरेर महानगर खेलकुद विकास समितिले तल्लो तहमै खेलाडी उत्पादन गर्न भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रतियोगिता भइरहनुपर्ने बताए ।   अहिले च्याम्पियन बनेको सैनिक आवासीय मावि गत वर्षको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक जितेर उपविजेता बनेको थियो । यसपटक तृतीय बनेको शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर अघिल्लो वर्ष पनि तृतीय भएको थियो । 

पोखरा:    पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन् । क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा मंगलबार सुरु भएको हो ।   प्रतियोगिताका अन्य खेलहरु आगामी शनिबारसम्म संचालन हुनेछन् । प्रतियोगितामा क्रिकेट, भलिवल, फुटबल, टेवलटेनिस र बास्केटलबलका खेलहरु हुनेछन् । कार्यक्रमको गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य तथा नेपाल स्काउटका पूर्व महासचिव हेरम्बप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, प्रमुख अतिथि लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

पोखरा:    पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो । धनगढी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पोखरा र धनगढीले १–१ गोल गर्दै खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको ५ औँ मिनेटमा पोखराका आयुष घलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको १०२ औँ मिनेटमा स्टेफेन कोजोले गोल गर्दै पोखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो । यो खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलको विजेतासँग खेल्नेछ । काठमाडौं र ललितपुरबीचको खेल भोलि मङ्गलवार हुनेछ । यस्तै दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।