पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

काठमाडौं:    साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित ग¥यो ।  श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो । जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ । सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।

सिन्धुपाल्चोक:     ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उहाँले २८ किलोमिटरको दूरी  दुई घण्टा २८ मिनेटमा पूरा गर्नुभएको थियो ।  दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको थियो  । यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गर्नुभएको थियो  । आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् ।  महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताउनुभयो  ।   प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकी अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा र रोल्पाकी आश्मा विकले तीन घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चाँैथो र पाँचौं स्थान प्राप्त गरेका छन् ।  प्रतियोगितामा प्रथम, दोस्रो , तेस्रो, चौँथो र पाँचौँ हुनेले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद क्रमशः ५० हजार,२५ हजार,१५ हजार,१० हजार र पाँच हजार  प्राप्त गरेका छन् । विजेतालाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गर्नुभयो । 

काठमाडौं:   नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो ।   अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए ।   नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६४ रनको योगफल बनाएको थियो ।  कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । अर्का खेलाडी दीपेन्द्रले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडेका थिए ।  अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ ।   आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।  उक्त शृङ्खलाका लागि पूर्वप्रशिक्षक दासानायकेलाई मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।       पूर्वप्रशिक्षक दासानायकेले उक्त प्रतियोगिता अवधिभर नेपाली टोलीको मेन्टरको भूमिका निर्वाह गर्नुहुनेछ । उक्त शङ्खलामा नेपालले पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ ।  त्यस्तै नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग खेल्नेछ भने तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम खेलमा नेपालले कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।       नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली जनकपुर बोल्ट्सले दासानायकेलाई केही दिनअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिग–२ को उक्त शृङ्खला सकिएपछि दासानायके नेपाल प्रिमियर लिगका लागि नेपाल आउनुहुने बताइएको छ । 

काठमाडौं:     राजधानीमा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।            त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो ।  खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।            त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन् । भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४–० को अवस्थामा पु¥याइन् ।             खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन् । भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।  खेलको पहिलो हाफसम्म ४–१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने सङ्केत देखाएकी थिइन् ।  तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो । भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५–२ को अग्रता दिलाइन् ।       जीतसँगै भारतले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् ।  शुक्रबार दिउँसो १ः३० बजे पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५ः३० बजे नेपाल र भुटानबीच हुनेछ ।  

पोखरा:    विक्रम महर्जन नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।   आज (बिहीबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।    यस्तै उक्त टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आलेमगर र टिम व्यवस्थापकमा राज महर्जन नियुक्त भए ।    राईले आलेमगर र महर्जनलाई पनि सोही अवसरमा नियुक्तिपत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।  

भैरहवा:    बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ ।  दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।  नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।  एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ ।  विजयी टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ ।  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।  प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आधिकारिकता प्रदान गरेको छभने प्राविधिक सहयोग रुपन्देही क्रिकेट सङ्घले गरेको छ ।  भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एकअर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिनुभयो ।  प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ ।   

काठमाडौं:     सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।   एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।   प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ । 

पोखरा:  पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो ।  संघमा आबद्ध भएका क्लबहरुमात्र उक्त प्रतियोगितामा सहभागि कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए ।  उनले जिल्ला स्तरमा प्रतियोगिता हुँदा खेलाडी विकास हुने बताए । संघले ग्रासरुटस्तरमा खेलाडी विकास गर्ने योजनाका साथ प्रतियोगिता आयोजना गरेको उनले सुनाए । उनका अनुसार प्रतियोगिता नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रधानमन्त्री कपका लागि जिल्ला छनोटको रुपमा समेत रहेको छ ।  ‘यो पिएम कपको लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता समेत भएकाले संघमा आबद्ध क्लबहरु बिचमा मात्रै भएको हो । हाम्रो संघमा ९ क्लब दर्ता रहेका छन’ उनले भने, ‘यो खेलाडीहरुका लागि अवसर समेत हो । खेलाडीले राम्रो प्रदर्शनी गर्न सकेमा भोलि राष्ट्रिय टिममा समेत पर्ने सम्भावना रहन्छ ।’   एक दिवसीय क्रिकेट जिल्ला स्तरमा हुँदा खेलाडी विकासमा ठुलो टेवा पुग्नेमा आफु आशावादी रहेको उनी सुनाउछन् ।  प्रतियोगितामा सहभागि कुल ९ टिमलाई तीन समुहमा विभाजन गरिएको छ ।  समुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् ।  प्रतियोगिताको समुह विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् भने उपविजेता मध्येबाट एक टिम सर्वाधिक अंक ल्याउने वा रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गर्नेछ ।  प्रतियोगिता भोलिबाट सुरु भई १२ गतेसम्म सञ्चालन हुनेछ । सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब बिच उद्घाटन खेल हुने पुनले बताए ।