काठमाडौं: नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनामा जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाँै आइपुग्ने एन्फाले जनाएको छ । सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ रु तीन सय र भीआइपीतर्फ रु पाँच सय तोकिएको छ । त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ रु पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको छ । यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।
पोखराको काँहुडाँडामा रहेको रिचमन्ड फेलोसिप पोखराले सोबर हाउस इन्टर रिहाब सिक्स ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी कात्तिक १ र २ गते, माछापोखरी खेलकुद मैदानमा “लागु पदार्थ होइन, स्वास्थ्यमा ध्यान दिउँ भन्ने मुल नारासहित प्रतियोगिता आयोजना गरिएको प्रदीप बस्नेतले जानकारी दिए । लागुऔषध तथा मादक पदार्थ उपचार केन्द्रमा रहेका उपचारार्थी, स्वयंसेवक र कर्मचारीहरु उक्त प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए । उनका अनुसार सो प्रतियोगिताको विजेतालाई च्याङ्ग्रा, शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ भने, उपविजेता टोलीले खसी शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा पोखरा भित्र रहेका १२ वटा लागुऔषध उपचार तथा सुधार केन्द्रहरुले सहभागिता जनाउने छन् । विगत वि.सं. २०५५ सालदेखि लागुपदार्थ र एचआइभीको क्षेत्रमा विभिन्न कार्यक्रम र सेवाहरु दिँदै आइरहेको रिचमन्ड फेलोसिप पोखराले लागुऔषध र मादकपदार्थ सम्बन्धि परामर्श र उपचार केन्द्र चलाइरहेको छ ।
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यसअघि नेपाललले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो । नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो । श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।
मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैँफर्टमा हुँदैछ । इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू भोलि जर्मनी प्रस्थान गर्नेछन् । टोलीलाई आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङ्फु सङ्घका महासचिव भूपेन्द्र गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताउनुभयो ।
काठमाडौं: कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३–२ ले हराउँदै उपाधि जितेको हो। अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो। अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो। पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो। १५–८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनी समय गुमाउन परेन। सहजै २५–१७ ले पहिलो सेट जित्यो। दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो। एक समय ९–१५ ले पछि परेको ललितपुरले खेललाई १८–२० सम्म पुर्यायो। तर यो सेट पनि २५–२० ले कर्णालीले जित्यो। खेलमा कर्णालीले २–० को स्पष्ट अग्रता बनायो। २–० पछि परेको कर्णालीलाई खेलमा फर्कन तेस्रो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप ललितपुरले सानदार प्रदर्शन गर्यो। ललितपुरले यो सेटमा भने सुरूवात देखि नै अग्रता बनायो। ललितपुरले २०–१० को अग्रता बनाउँदा कर्णालीले तालमेल नै मिलाउन सकेन। जहाँ २५–१२ ले तेस्रो सेट ललितपुरले जित्दै खेललाई २–१ को स्थितिमा पुर्यायो। ललितपुरले खेलमा फर्कने संकेत देखायो। चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो। बिना दबाब चौथो सेट २५–१८ ले जित्यो। योसँगै खेल २र२ को बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो। पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो। ५–५ को बराबरीबाट ललितपुर ११–९ को अग्रता बनायो। तर यो अग्रता तोडियो खेल ११–११ मा पुग्यो। यसपछि कर्णालीले १३–१२ को अग्रता बनायो। लगतै कर्णालीले अर्को अंक जोड्दै १४–१२ को स्कोरमा जित नजिक पुग्यो। तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४–१३ मा पुर्यायो। यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५–१३ ले पाँचौ सेट जित्दै उपाधि जित्यो।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क चगाडीमा भोलि असोज २० देखि २३ गतेसम्म हुने दशैं मेलाको तयारी पूरा भएको छ । माझखर्कस्थित शिव लेकाली जीवन ज्योति युवा क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित दशैं मेलाको तयारी पूरा भएको क्लबका अध्यक्ष मनबहादुर घतीमगरले जानकारी दिए । क्लबको २३ औं वार्षिकोत्सव एवम् दशैं मेलाको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला क्यारिमबोर्ड प्रतियोगिता, घैटोफोड प्रतियोगिता र म्युजिकल चियर प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेको उनले बताए । खुल्ला वडास्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले नगद ४० हजार उपविजेता हुने टिमले २० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भलिबल खेल संयोजक तेजिन्द्र रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा सहभागिता जनाउनका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिकाका ५ वडा र काठेखोला गाउँपालिकाको फापरखेत र गौश्वारा गाउँलाई मात्र समावेश गर्ने संयोजक रोकाले बताए । यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः १०, ६ र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः ७ र ३ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगिता र क्यारिमबोर्ड प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १/१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । खेलकुदको विकाससँगै सामाजिक कार्यमा क्रियाशिल क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिता आयोजना गर्ने निर्णय बमोजिम यस वर्ष पनि गाउँपालिकाका भित्रका वडालाई मात्र भलिबल प्रतियोगितामा सहभागिता गराउने कार्यक्रम संयोजक गोविन्द पुनले बताए । ‘खेलकुदको विकासँगै सामाजिक कार्यमा क्रियाशिल यस क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ’, संयोजक पुनले भने, ‘क्लबले दशै मेलामा आयोजना गर्ने कार्यक्रमबाट बचत भएको रकमले प्रजातन्त्र मावि र अमर प्राविका विद्यार्थीहरुलाई पुरस्कार प्रदान आएको छ, दशैमा मेलामा मात्र आयोजना नभएर सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छौं ।’
काठमाडौं: एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ सहभागी हुन लागेकी हुन् । एरिकाले यु–२१ उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौलसमूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल यही असोज २७ गते हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा एक सय १३ राष्ट्रका एक हजार नौ सय ९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिनुभयो । एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कूल आठ पदक दिलाएकी छन् । त्यसमा चार स्वर्ण, तीन रजत र एक कांस्यपदक छ । एरिकाले यो सफलता एक वर्षमा हासिल गरेकी हुन् । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै, एरिकाले १९औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण र चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत पद जितेकी थिइन । प्रतियोगितामा सहभागी हुने एरिकासहित चार सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले आज शुभकामना दिँदै विदाई गर्नुभयो । इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । नेपाली टोली भोलि इटाली प्रस्थान गर्नेछ । सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रदान गर्नुभयो । अध्यक्ष लामाले नेपाल करातेमा एसियालीस्तरमा पदक जितेर इतिहास रचिसकेको उल्लेख गर्दै नेपालले यसपटक करातेको विश्व च्याम्पियनसिपमा पदक जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ । गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो । कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले समान १ गोल गरे भने, चाउँथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए । च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद रु ६० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको चाउँथेले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल २६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नेपाल किसान महासंघ युवा समिति केन्द्रिय सदस्य राजेश गौतम, नेपाली कांग्रेसका वडा १५ का सभापति शुसिलराज पराजुली, नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कास्की सचिव प्रीतम गुरुङ, नेपाली कांग्रेसका वडा १५ का कोषाध्यक्ष टेक बहादुर भण्डारी, क्षेत्रीय प्रतिनिधि कल्पना अधिकारी बाँनिया, राजेन्द्र पराजुली, सन्तोष मिया, नयाँगाउँ क्लबका कोषाध्यक्ष सन्तोष गुरुङ, दोस्रो पुरस्कार प्रायोजक इन्द्र कुमारी गुरुङ, फ्याङ्कलिन एजुकेशनका अध्यक्ष गंगा बहादुर खड्का, नयाँगाउँ क्लबका सदस्य विदुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । नेपाली कांग्रेस वार्ड इकाई समिति १५ ले प्रथम पुरस्कार सौजन्य गरेको थियो । प्रतियोगितामा विधागततर्फको पुरस्कार समय अभावका कारण घोषणा गर्न नसकेको जानकारी गराउँदै शुक्रबार एक कार्यक्रमकाबीच पुरकृत गरिने प्रतियोगिताका परिकल्पनाकार विकास गुरुङले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
काठमाडौं: बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ । मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका प्रशिक्षण रहेका छ बालकको निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बाँनिया, सर्लाहीका आदित्य बलमपाकी, काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मी सुरक्षित स्थानमा सर्ने क्रममा पहिरोमा परेका हुन् । एन्फाका केन्द्रीय सदस्य रहनुभएका लामा भन्नुहुन्छ, “देशका होनहार फुटबल खेलका प्रतिभा पहिरोमा परेको घटनाले मुलकको खेल क्षेत्रलाई अपुरणिय क्षति भएको छ, यो निकै दुखद् घटना भएको छ, सुरक्षित स्थानतर्फ लैजाने क्रममा यो घटना हुन पुग्यो ।” उनीहरु त्यहाँ गत वैशाखदेखि क्याम्पमा रही प्रशिक्षण गरिरहेका विद्यार्थीमध्ये अरु दुई जना त्यस घटनामा घाइते भए । त्यस एकेडेमीका पहिलो समूहमा रहेका उनी सबै १४ वर्ष मुनिका खेलाडी हुन् । एन्फाको प्रशिक्षणमा उक्त उमेर समूहका ४० विद्यार्थी प्रशिक्षणमा थिए । त्यस्तै भौतिक पूर्वाधारका क्षेत्रमा ललितपुरको च्यासलस्थित खेलमैदान हनुमन्ते र बागमतीको बाढी पसेर तहस–नहस बनाएको छ भने प्रदेश र स्थानीय तहको सहयोगमा बनेका कयौं खेलमैदान बाढी कटानमा परेका छन् । राष्ट्रियस्तरको ललितपुरको च्यासलमा रहेका खेलमैदानमा बाढी पसेर क्षति भएको जानकारी प्राप्त भए पनि प्रदेश र स्थानीय तहको भने विवरण प्राप्त भई नसकेको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्र अधिकारीले बताउनुभयो । बागमती प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा केही वर्षअघि मात्रै निर्माण गरिएका १०० भन्दा बढी खेलमैदानसहित भौतिक पूर्वाधारमा क्षति भएको छ । सरकारले हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने नीतिअनुसार हाल २६५ स्थानीय तहमा खेलग्राम निर्माणाधिन अवस्थामा रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् मातहत अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरिय खेलकुद पूर्वाधार छन् । सुरक्षा निकायसँग सम्बद्ध पनि आफ्नै खेल संरचना छन् भने निजी क्षेत्रबाट पनि जिमखाना, पौडी पोखरी र फुटसल सञ्चालनमा छ । खासगरी रोशी खोला, सुनकोसी र बागमती नदी किनार तटिय क्षेत्रमा रहेका त्यस्ता पूर्वाधार कटान र डुबानमा पर्दा ठूलो नोक्सानी भएको छ । सिन्धुली गड्तिर भेगका च्याकुटारबेँशी, बलेनी, खुर्कोट, मुलकोट, खाल्टे, कुशेश्वरमा रहेका खेलमैदान बाढीबाट पूर्ण क्षति भएको अवस्था रहेको सिन्धुलीको सुनकोशी गाँउपालिकाका अध्यक्ष दीपा बोहरा बताउनुहुन्छ । रामेछाप, दोलखा, सिन्धुपलाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवामा समेत कुनै न कुनैरुपमा खेल पूर्वाधारमा बाढीले असर पु¥याएको छ ।