नेपाल कबड्डी लिगका लागि खेलाडी छनोट, पोखरा लेकर्सको  मार्की खेलाडी प्रदीप मिजार

काठमाडाैं | पुस १, २०८१

नेपाल कबड्डी लिगका लागि खेलाडी छनोट, पोखरा लेकर्सको  मार्की खेलाडी प्रदीप मिजार

काठमाडौं:   नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणका लागि आज टिम प्रशिक्षक र मार्की खेलाडीको घोषणासँगै खेलाडी छनोट गरिएको छ । उक्त छनोटमा छ टिमका ८४ खेलाडी चुनिएका छन् ।

    
एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा छ सहरका छ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

    
विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । 


बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार रहेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले जानकारी दिनुभयो ।
    

१९औँ एसियाली खेलकुदमा नेपाली महिला टिमले कास्यपदक प्राप्त गर्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाउनुभएको छ भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुनुहुन्छ ।

    
प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुनुहुन्छ ।

    
प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको छनोट गरिएको छ । छनोटका लागि ९२ नेपाली र २५ विदेशी गरी कूल एक सय १७ खेलाडी सूचीमा थिए । 

    
प्रशिक्षकहरूले आआफ्नो रणनीतिअनुसार ८४ खेलाडी छनोट गरेका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले दुई देखि चार जनासम्म विदेशी खेलाडी लिएका छन् ।
    

उक्त छनोट कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले निजी क्षेत्रले खेलकुदको क्षेत्रमा ठूलो योगदान दिइरहेको बताउनुभयो । उहाँले एनकेएलको सुरुआतले कबड्डी खेललाई व्यावसायिकताको मार्गमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

    
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भन्नुभयो, “मधेसमा लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिन एनकेएल ल्याएका छौँ । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ ।” 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्