काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५–३ ले विजयी भएको हो । पहिलो हाफमा सविता राना मगरको १–० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।
पोखरा: पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिबरात्रीको अवसरमा यही फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ । पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो । पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको र २२ गते साँझ सम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेश महिला भलिबल टिमले पाल्पाको रामपुरमा भोलिदेखि सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल महिला प्रतियोगितामा अरुणा शाहीको कप्तानीमा सहभागिता जनाउने भएको छ । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाउन प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय महिला टोलीका कप्तान समेत रहेका अरुणा शाहीको कप्तानीमा (बुधबार) १५ सदस्य टोली घोषणा गरेको छ । गण्डकी प्रदेश महिला टिममा अरुणा शाही (कप्तान), एलिसा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोईङ थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुशी पुन, रेविना घर्ति मगर, अनिशा रोका, प्रशिक्षकमा मलिन रोका, सहायक प्रशिक्षकमा समित गुरुङ र व्यवस्थापकमा पूर्णबहादुर गुरुङ रहेका छन् । पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसँगै सातै प्रदेशको सहभागिता रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
काठमाडौं: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९:४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन् । विश्व फुटबल महासंघ ९फिफा० को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो । तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर छ । त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो । जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबननलाई २–१ गोलले हराएको थियो । नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ । जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको थियो । जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो । सेमिफाइनलमा भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो । जोर्डनले फाइनलको यात्रा तय गर्दासम्म विपक्षीको पोस्टमा १३ गोल गरिसकेको छ । हालसम्म जोर्डनले एक गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छिन् । उनले हालसम्म पाँच गोल गरिसकेकी छन् । त्यसैले पनि बिहीबार खेलिने नेपाल र जोर्डनबिचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपालले आमन्त्रित टोलीको रुपमा यो प्रतियोगितामा सहभागिता जनाएको हो ।
काठमाडौं: नेपाल त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल नै भेट्टाएन । उनले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हानेका थिए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।
बागलुङ: तेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र महिला भलिबलको उपाधि जैमिनीले जितेको छ । मंगलबार सम्पन्न फाईनल खेलमा पुरुष भलिबलतर्फ सिद्धार्थ चस्मा घर नरेठाँटी बजार एरिया एनबिए गलकोटले होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंलाई सोझो सेटमा पन्छाउँदै लखन कप २०८० को उपाधि चुमेको हो । एनविएरले २५—२०, २५—१७ र २५—१७ को स्कोरमा जित हाँसिल गरेको थियो । उपाधि जितेको एनविएले नगद ८१ हजार एक सय ८१ रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । एनविएलाई उपाधि दिलाउन क्याप्टेन अशोक सुनारको प्रदर्शन उच्च रह्यो । उपाधि होडमा पछि परेको रोयल बिजीले नगद ४१ हजार एक सय ४१ रुपैयाँ नगद मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । महिलातर्फको भलिबल फाईनलमा जैमिनी भलिबलले ताराखोला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । जैमिनीले २५—१६, २५—२० र २५—१७ को स्कोरमा जित दर्ता गरेको हो । जैमिनीलाई जित दिलाउन आशिका क्षेत्रीले उच्च योगदान गरिन् । महिला भलिबलको उपाधि जितेको जैमिनीले नगद ३० हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको ताराखोलाले नगद १५ हजार मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताभर उच्च प्रदर्शन गरेको पुरुषतर्फ एनबिएका कप्तान अशोक सुनार र महिलातर्फ जैमिनीका आशिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए । मगर दिवसको अवसरमा आयोजना गरिएको घैटोफोड प्रतियोगितामा कविता श्रीसले घैटो फोड्न सफल भईन् । महिला रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समूह प्रथम र उपल्लाचौर समुह द्वितीय भयो । समय अभावका कारण पुरुष रस्साकस्सी हुन सकेन । महिलो छेलो फाल्ने प्रतियोगितामा विष्णु पुन मगर प्रथम, सम्झना थापा मगर द्वितीय र राजकुमारी पुन तृतीय भए । पुरुषतर्फको छेलो प्रतियोगितामा दुजिक थापमगर प्रथम, अमरबहादुर पुन मगर द्वितीय र मिलन पाईजा तृतीय भए ।
पोखरा: पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आगामी चैत ७ गतेदेखि ९ गतेसम्म कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो । बिक्कु गिरीका बुवा स्वर्गीय कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विषम पहारीले बताए । ‘ स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री हुनुहुन्थ्यो । उहाँको फुटबल विकासमा योगदान छ । त्यतिमात्र नभएर विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ खेल संयोजक पहारीले भने । उनका अनुसार सो प्रतियोगिताको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागि हुनका लागि कम्तिमा ३५ वर्ष उमेर पूरा हुुनुपर्ने खेल संयोजक पहारीले जानकारी दिए । उनका अुनसार प्रतियोगितामा सहभागिता जनाउनका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । टिम दर्ता फोनबाटसमेत (९८१६६९९९९२, ९८१५१८२९२१, ९८४३३९२९३६) गर्न सकिने आयोजकले जनाएको छ ।
काठमाडौं: त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे । स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरेका थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।
काठमाडौं: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । नेपालले ७६ औं मिनेटमा सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन् । नेपालले ३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो । प्रिती राईले खेलको अतिरिक्त समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । नेपालले फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डन पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।