५१ वटा चार्जिङ स्टेशन एकै पटक उद्घाटन

काठमाडाैं | भदौ २०, २०८०

५१ वटा चार्जिङ स्टेशन एकै पटक उद्घाटन

काठमाण्डौ:  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका लागि देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको एकै पटक उद्घाटन भएको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा काठमाण्डौको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेशनको उद्घाटन गर्नुभयो ।

 

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने ५१ वटा चार्जिङ स्टेशन निर्माण भएको हो । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानारठूला कारहरू चार्ज गर्न मिल्नेछ । 

 

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय गाडीको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो । विद्युतीय गाडीको प्रवर्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न काम भइरहेको बताउनुभयो । 

 

आन्तरिकरूपमा विद्युत् खपत बढाउने महत्त्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय गाडीको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेशन स्थापना गरिएको बताउनुभयो ।

 

विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५र२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताउनुभयो । उहाँले प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेशन स्थापना गर्न लागेको उल्लेख गर्नुभयो । एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्त्वपूर्ण क्षेत्र भएकाले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो ।

 

चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध गाडीहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

 

आन्तरिकरूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय गाडी प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको हो । हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६० र ६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ । 

 

चार्जिङ स्टेशन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेडसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्