पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ: महामन्त्री थापा
म्याग्दी | कात्तिक १५, २०८०

म्याग्दी: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
“कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,” थापाले भन्नुभयो, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो । काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आउनुभएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिनुभयो ।
“स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ”, महामन्त्री थापाले भन्नुभयो, “नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरुको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने छ ।”
समुद्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो ।
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । असोजरकात्तिक पर्यटकको यामका रुपमा मानिन्छ ।
गत वर्षको तुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडिको अवस्थामा जस्तो पाहुना आउन नसकेको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
“घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । कोभिड अगाडिको छ महिनामा ३० हजार भन्दा बढी पर्यटक आएकामा यस वर्ष वैशाखदेखि कात्तिक दोस्रो सातासम्म चौध हजार मात्रै पर्यटक आएका छन्”, होटल व्यवसायी थापाले भन्नुभयो । उहाँका अनुसार यहाँ २५ वटा सुविधायुक्त होटल छन् ।
कोभिड अगाडि भरिभराउ हुने होटलमा आधा मात्रै पाहुना रहेका होटल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । महामन्त्री थापाको टोली घोडेपानीदेखि आज कास्कीको पर्यटकीयस्थल घान्द्रुक गएको छ ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...