ओमानमा अलपत्र युवतीको उद्धार
काठमाडाैं | मंसिर १४, २०८०
वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ।
गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्याएको थियो।
ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो।
पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन्। कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले सुनाइन्। सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो।
सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन्। उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।
‘ओमानमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरर्जस्ती गरे,’ उनले भने, ‘ब्यूटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ। त्यसपछि मलाई उनीहरुले बन्धक बनाएर तनाव दिए,’ उनले भनिन्। उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले २ लाख ५० हजार माग गरेको बताइन्।
‘तिमीलाई दुई लाख ५० हजारमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देउ अनि मात्र घर फर्किन पाउँछौँ भन्यो,’ रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उनले भनिन्, ‘त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ। उनी ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वर्ल्ड म्यानपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन्।
विर्तामोडमा रहेको अप्सरा ब्यूटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन्। ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटीपार्लर गुहारेका थिए। दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए।
‘मलाई कम्पनीले अलपत्र पार्यो, छिटो उद्धार भएन भने म झुण्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौं,’ सञ्जिताका काका राजबंशीले भने, ‘जसले ओमान पठाएको हो, त्यही म्यानपावर र ब्यूटीपार्लरमा जाँदा केही पनि जान्दैनौं भनेर फर्काइदिए।’
सांसद् शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो। ओमान जाँदा एक लाख ५० हजार म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताइन्। उद्धारपछि घर फर्किदा निःशुल्क आउन पाएको उनले बताइन्।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

