पूर्वमेयरको असफल योजनामा चुनौति मोल्दै मेयर आचार्य
काठमाडाैं | असार १०, २०७९
फाइल तस्विर
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे त्यसउपर विश्लेषण गर्न छूट छ । मेयर आचार्यले तयार पारेको कार्यक्रम कति सफल होलान् वा नहोलान् त्यो आगामी दिनले बताउँला तर उनले घोषणा गरेको बुँदा नम्बर १३९ ले भने उनको कार्यदक्षतालाई पर्गेल्ने छ ।
पूर्वमेयर मानबहादुर जिसीले नगरक्षेत्रमा कुरुप बनेर रहेको बिजुली र टेलिफोनको तारलाई भूमिगत (अण्डरग्राउण्ड) गर्ने पपुलिष्ट योजना अघि सारेका थिए । योजना एक्सनमा पनि गयो । स्मार्ट पोखराको नारा दिएर चुनाव जितेका पूर्वमेयर जिसीलाई ‘केही’ गरेर देखाउनु थियो ।
सोही अनुरुप नै जिसी कतिपय यस्ता योजना सुरु गर्न आफै सडकमामात्र उत्रिएनन् बिजुलीको खम्बासमेत चढ्न भ्याए । ०७५ साल मंसिर २७ गते पूर्वमेयरले जथाभावि टाँगिएका बिजुली, टेलिफोनका तार, केवल हटाउने योजनाअनुरुप ४ नम्बर वडामा रहेको सिद्धार्थचोकको खम्बामा चढेरै तार काट्ने काम गरे ।
उनी आफै कस्सिएपछि वाहवाही लुटे । कार्यकालभित्र काम पुरा गर्ने लक्ष्य सुनाएपछि पोखरेलीले ताली पनि पिटे तर त्यसको नतीजबारे थप केही भन्न आवश्यक छैन । जिसीको असफल योजनामध्ये सोही काम नम्बर १ मा दर्ज भएको छ ।
पूर्वमेयरले असफलता चाखेको सोही योजनालाई २ वर्षभित्र पुरा गर्न वर्तमान मेयर आचार्य कस्सिने भएका छन् । नीति तथा कार्यक्रममा आगामी २ वर्षभित्र बिजुली र टेलिफोनका तार हटाई भूमिगतरुपमा अप्टिकल फाइबर जडान गर्ने आचार्यले उल्लेख गरेका छन् ।
नगरलाई सौन्दर्यकरणमात्र हैन, सुरक्षित बनाउन पनि यो कदम अपरिहार्य छ । यसअघि बिजुलीको करेन्ट दौडिरहेका तार चुँडिएर सडकमा खस्दा एक शिक्षकको ज्यान गएको छ । कहिले ट्रयाक्टर झुण्डिने त कहिले व्यस्त चोकमा ह्वार्ह्वार्ती आगो बल्ने र ट्रान्सफर्मर पड्कने घटना महानगरभित्र आम हुने गरेको छ ।
यसअर्थमा पनि मेयर आचार्यको योजना सह्राहनीय मान्नुपर्छ । तर नेपाल टेलिकमका प्रमुख इन्जिनियर नरेन्द्र महर्जनले महानगरका ताररहित सहरको योजना उपयोगी र सकारात्मक रहेपनि जटिल रहेको प्रतिक्रिया दिएका छन् । यो काम झन्झटिलो भएको उनको तर्क छ । त्यसबेला महर्जनले प्रश्न गरेका थिए ‘अन्डरग्राउण्ड गर्दा सडक खन्ने कसले ?’, ‘प्रत्येक पोइन्टमा १० वटा टेलिफोन लाइन छन्, त्यसलाई घरघरमा कसरी पु¥याउने ?’
यही प्रश्नको जवाफ नखोजी अब पनि योजना सफल हुने छाँट देखिदैन पोखराको संरचना साँघुरो भएको टेलिकमको भनाई छ । एउटा सेवा प्रादायक कम्पनीको तार मर्मत गर्दा अर्काेमा क्षति पुगे त्यसको मर्मत गर्ने कार्य झनै जटिल रहेको जानकार बताउँछन् ।
यस काममा महत्वपूर्ण भूमिका रहने युटिलिटी डक्टलाई व्यवस्थित बनाएर लैजान कार्यविधि नै बनाउन पर्नेमा टेलिकमको जोड छ । विदेशमा डक्ट प्रणाली अपनाइएपनि यसको प्रयोग पोखरामामात्र हैन नेपालमै जटिल रहेको महर्जनको बुझाई छ ।
मेयर आचार्यसँग पनि सल्लाहकार हुनेछन् । तार अन्डरग्राउण्ड गर्न सहजीकरण समिति पनि पक्कै बन्नेछन् । तर उनै सल्लाहकार र समितिका सदस्यले कस्ता राय दिनेछन्, सोही अनुसार यो योजना सफल वा असफल हुनेछ ।
त्यसो त सल्लाहकार र समिति भन्दा नेतृत्वको इच्छाशक्तिले सबैभन्दा बढी महत्व राख्छ । यसअघि विभिन्न संस्थामा रहँदा ‘एक्सन ओरियन्टेड’को छवि बनाएका आचार्य यहाँपनि सफल हुनसक्छन् । पूर्वमेयरले झैं तारको गुजुल्टो पन्छाउन कस्सिनुभन्दा पहिले अनावश्यक सुझाव, सल्लाह र भीडलाई पन्छाउन सके तार भूमिगत गर्ने योजनाले सफलताको सूचीमा नाम राख्नेछ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

