घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिए
चितवन | असार १३, २०७९

चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।
नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो ।
राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकीन तथ्याङ्क त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा सङ्कलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताउनुहुन्छ ।
गतवर्ष प्रकृतिमा सङ्कलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ ।
प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् ।
राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।
हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।
अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।”
नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...