प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि
काठमाडाैं | फागुन १५, २०८०
काठमाडौं: वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।
प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।
प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताउनुभयो । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा
निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।
प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो ।
आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।
उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्त्वपूर्ण योगदान छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

