पर्वतको पैयुँ गाउँपालिकामा बाँदर धपाउन कर्मचारी नियुक्त गरिने
पर्वत | चैत ६, २०८०
पर्वत: पर्वतको पैयुँ गाउँपालिकामा बाँदर धपाउन कर्मचारी नियुक्त गरिने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो ।
पैयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार, अहिलेलाई यति नै संख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय गरिएको छैन । तर, न्यूनतम पाँचरपाँचजनाका दरले कर्मचारी राख्ने तयारी गरिएको छ ।
हरेक वडामा पाँचजनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरिनेछ ।
बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ ।
१३औँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही २० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए ।
यस्तै, सरकारले कक्षा–५ सम्म दिने दिवा खाजा कार्यक्रमलाई पैयुँ गाउँपालिकाले कक्षा–६ सम्म विस्तार गर्ने निर्णय गरेको छ । पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा–८ को पालिकास्तरीय परीक्षालाई एसईई ढाँचामा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

