गण्डकी प्रदेशस्तरीय फुटबल: सेमिफाइनल समिकरण पुरा
पाेखरा | जेठ २६, २०८१
पोखरा: पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमिफाइनल समिकरण पुरा भएको हो ।
पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई पेनाल्टीमा ४–३ ले स्तब्ध पार्याे। निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।
निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ टाइमपछि स्याङजा खेलमा फर्कियो । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यता कास्कीले आफ्नो होम ग्राउण्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिए भने अभिषेक थापाले खेलको दोस्रो
हाफमा व्यक्तिगत दुई गोल गरे । उनले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।
आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।
शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे ।
सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गरेका थिए ।
आइतबार सेमीफाइनलका खेलहरु सञ्चालन हुने संघका महासचिव बिनोद गुरुङले जानकारी दिएका छन् । सेमीफाइनल अन्तर्गत म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँ अर्को सेमीफाइनलमा भिड्नेछन् ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

