एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

पाेखरा | साउन १५, २०८१

एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

गण्डकी:     सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ  खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । 


फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । 


आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । 


आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।” 


पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । 


बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । 


राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो । 


खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । 


कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता  गरिरहेको छ”, उहाँले भन्नुभयो ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्