राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी

धादिङ | भदौ १५, २०८१

राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी

धादिङ:   बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । 


पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौँ पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।


आज दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौँ पुर्‍याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छँदैछ सुक्खा पहिराले छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकाले महँगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो ।


राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साबिकभन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौँ पुर्‍याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डा मधुकर दाहालले बताउनुभयो । 


“जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौँ लैजान सुझाव दियौँ, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्त बाध्य हुनुभयो”, डा दाहालले भन्नुभयो ।


धादिङबेँसीबाट काठमाडौँ कलङ्कीसम्म पुग्न सामान्यतय लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्न सकिँदैन । 


एम्बुलेन्सलाई धादिङबेँसीबाट काठमाडौँ पुग्न वा  काठमाडौँबाट धादिङबेँसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । बर्खाको बेला पानी र पहिराले सडक अवरुद्ध भयो । कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन ।


राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले चार घण्टाभन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाइ छ । 


वर्षौदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्नुहुन्छ, “सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङवेसी–काठमाडौँ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।”


धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौँ भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिँड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने गरेको छ ।


राजमार्गको दुरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरी यो बर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । 

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्