युवा नहुँदा ठिनीमा मेला धान्नै मुस्किल

मुस्ताङ | भदौ १७, २०८१

युवा नहुँदा ठिनीमा मेला धान्नै मुस्किल

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ ।

 

रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो ।

 

आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो ।

 

“ठिनीवासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो”, उहाँले भन्नुभयो, “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुको कार्यव्यस्तताले मेला अवधि छोट्याइएको हो ।”

 

विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र ज्येष्ठ नागरिकको भरमा भदौरे मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्रीलगायत नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो ।

 

पहिले युवा मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुने गरेका छन् ।

 

यहाँ खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेलाई मनोरञ्जन र हिउँद सुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन छ ।

 

तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका यी बस्तीमा जनैपूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् । भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृति, विसङ्गतिलाई ब्यङग्यमार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लबका सचिव नीरज थकालीले बताउनुभयो ।

 

लामाहरुबाट गुम्बामा देवीदेवताको पूजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमूलक नाटक प्रर्दशन हुुन्छन् ।

 

भदौरे मेला र मौलिक नाचहरु लोप हुन नदिन पाका पुस्ताका कलाकारबाट किशोर किशोरीहरुलाई नृत्य कला र सीप हस्तान्तरण गराउने प्रयास भइरहेको घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो ।

 

भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफालगायत प्राकृतिक, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीबाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम हुन् । 

बागलुङ:  तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्त...

थप पढ्नुहोस्

पोखरा:  पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् ।  स्नातक तहमा आमसञ्चार तथा पत्र...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ता...

थप पढ्नुहोस्