जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

बाग्लुङ | भदौ १९, २०८१

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

बागलुङ(गलकोट):  सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । 
 
    
लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो ।

    
“धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भन्नुभयो, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।” 

    
पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् । 

    
जग्गादाता गोविन्द उपाध्यायले भन्नुभयो, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उहाँले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताउनुभयो । 

    
बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिनुभयो । 


“बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताउनुभयो ।

    
विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ । 
    
    
बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्