माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

कास्की | भदौ १९, २०८१

माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

कास्की:    जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो ।


गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका माध्यमबाट पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो । उहाँले देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि आफूहरूले सुरुआत गरेको बताउनुभयो । 


“पालिकाका सामुदायिक विद्यालयका कार्यरत योग्यता पुगेका शिक्षक र हाल कार्यरत प्रधानाध्यापक समेतबाट आवेदन माग गरेका थियौँ । आवेदकको विद्यालय सुधार कार्ययोजनाको प्रस्तुतिसहित विज्ञ सम्मिलित मूल्याङ्कन समितिबाट पारदर्शी रूपमा नियुक्ति गरेका छौँ । सबै जना खुसी हुनुभएको छ”,  उहाँले भन्नुभयो । 


गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८) का लागि १०, माध्यमिक तह (९–११)का लागि चार र माध्यमिक तह (११–१२)का लागि छ जना प्रधानाध्यापकसँग सम्झौता गरेको हो । 


विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा प्रअको छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो ।


प्रधानाध्यापकको विधिपूर्वक छनोट गरी विद्यालयको शैक्षिक प्रशासनमा गुणस्तरीयता, शैक्षिक विकास र उपलब्धि तथा विद्यालयको कुशल व्यवस्थापनका लागि पहिलोपटक प्रतिस्पर्धामा जोड दिइएको उहाँले बताउनुभयो । 


“विद्यालयका प्रधानाध्यापकको पद विभिन्न कारणबाट अस्थिर हुने, प्रअले पूरा अवधि राम्रोसँग काम गर्ने वातावरण थिएन । पाँचवर्षे सम्झौताले प्रअहरूले आफ्नो विद्यालयमा ढुक्कले काम गर्ने वातावरण बनेको छ । यसबाट पालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।
 

प्रमुख प्रशासकीय अधिकृत अर्यालले चालु वर्षमा पालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएको थियो । सोही कार्यविधिलाई टेकेर खुला आवेदनसहित प्रक्रिया सुरु गरिएको अर्यालले बताउनुभयो । 


प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छनोट मूल्याङ्कन समिति बनाइएको थियो । सो समितिमा गाउँ शिक्षा समितिले तोकेका दुईजना विज्ञ, गाउँ शिक्षा समितिको अध्यक्षले मनोनित एकजना सदस्य र गाउँपालिका शिक्षा अधिकृत सदस्यसचिव रहेका थिए । 

काभ्रेपलाञ्चोक:  यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।   जिल्ला प्र...

थप पढ्नुहोस्

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...

थप पढ्नुहोस्

धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...

थप पढ्नुहोस्