सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडाैं | असोज ३, २०८१

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । 


शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो ।  

    
विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुन:निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

    
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनकोे मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिनुभयो । 

    
“अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “लाइन लामो छ, दैनिक जम्मा छ सयका लागि खुलाउने भनेका थियौँ । भीड बाक्लो भयो । तसर्थ तोकिए भन्दा बढीले धरहरा चढिसकेका छन् । अब ३ः३० बजेसम्म भित्र छिर्न दिइन्छ, ४ः३० बजे बन्द हुन्छ ।”

    
उहाँले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताउनुभयो । शुल्कको विषय टुङ्गो लाग्न बाँकी रहेको र छिट्टै टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

    
सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा “मेरो धरहरा, मै बनाउछु” भन्ने अभियान सुरु गरिएको थियो । 


विसं २०७५ असोज १४ गते राष्ट्रिय पुन:निर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो । 

    
धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ । इकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ । 


धरहराको इतिहास

    
विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ्ग परी भत्कियो । विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो । 


विसं १९९० माघ २ मा महाभुकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ मा तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो । 

    
फेरि विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । हाल पुनःनिर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो । 

पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा रमाइलो दशैं फेस्ट आयोजना गरिएको छ ।   नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा कलेजले विद्यार्थीलाई मनोरञ्जन दिने उद्देश्यले ‘आइएसए...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ ।    युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् । ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ ।  आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्दे...

थप पढ्नुहोस्