राजमार्गका होटलमा रात्रिकालीन छड्के: पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार जरिवाना

काठमाडाैं | असोज १७, २०८१

राजमार्गका होटलमा रात्रिकालीन छड्के: पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार जरिवाना

धादिङ:    पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ ।


अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ को १ को ‘क’ बमोजिम जरिवाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ ।


धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरीसहितको अनुगमन टोलीले पृथ्वी राजमार्गअन्तर्गत पर्ने गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रका होटल तथा रिसोर्ट र खाद्यान्न पसलको पनि अनुगमन गरेको छ । 


अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराइएको र कार्यविधिअनुसार बिक्री गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिनुभयो ।


चाडपर्वको बेला जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको अर्यालले बताउनुभयो । 


चाडपर्वका बेला उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान बिक्री गर्नेलगायत कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको उहाँको भनाइ छ ।


चाडपर्वको मौका छोपेर विशेषतः पृथ्वी राजमार्गअन्तर्गत जिल्लामा सञ्चालित होटलले खाना, खाजाको मूल्य बढी लिने गरेको यात्रीहरूले गुनासो गर्दै आइरहेका छन् ।

काठमाडौं:   संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुन: सक्रिय ...

थप पढ्नुहोस्

गलकोट:   बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ ।  अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका ला...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार  दिउँसो सुदूरपश्चिम प्रदेशल...

थप पढ्नुहोस्