पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता
बाग्लुङ | असोज २२, २०८१
दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् ।
परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् ।
दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन । पहिराले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् ।
त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दसैँको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ ।
गत साउन २२ गते आरुपाटामा आएको पहिराले स्थानीय बालीश्वर बुढामगरको दुईवटा घर पुरेको थियो ।
पहिरोले घर पुरिँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिराले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् ।
युवाहरूभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ ।
बालीश्वको घर पुरिँदा उहाँका ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरी सात वर्षीया मधु र मालती बुढामगरको मृत्यु भएको थियो । उहाँ अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आउनुभएको छ ।
वृद्धा आमा र साना छोरासहित त्रिपालमुनिको बास अत्यासलाग्दो छ । बेलाबेला पानी पर्दा पनि उहाँहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताउनुभयो । दसैँ नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको उहाँ बताउनुहुन्छ ।
दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्दा खानाको समस्या नभए पनि घर पुनःनिर्माण गर्न सक्ने स्थिति नभएको उहाँले बताउनुभयो ।
“दसैँ आयो, सबैतिर खुसीयाली छ, हाम्रा लागि त यो दसैँ दशा भयो, बस्ने घर छैन, पहिराले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई केको दसैँतिहार ?, यस्तो बेला चाडबाड आउँदा पिर पर्दोरैछ”, बुढामगरले भन्नुभयो, “मलाई त त्यही छोरीहरूको र बुबाको याद आइरहन्छ, उहाँहरू पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलो हुने थियो, अहिले त साना छोरा छन्, उनीहरूलाई खुसी बनाउन पनि सकिएको छैन ।”
पहिरोका कारण स्थानीय मङ्गलसिंह बुढामगर पनि विस्थापित हुनुभएको छ । बालीश्वरको घर पुरिँदा मङ्गलसिंहका नौ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उहाँ पनि गम्भीर घाइते हुनुभएको थियो ।
लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आउनुभएका मङ्गलसिंहको दुईवटै खुट्टा चल्दैनन् ।
उहाँको साथमा आठ र ११ वर्षीया छोरीमात्रै छन् ।
लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मङ्गलसिंहले सुनाउनुभयो । चाडबाडका बेला छोरीहरूले राम्रो लाउन र मिठोमसिनो खान खोज्दा खुवाउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ ।
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोपीडितका लागि पालिकाले अतिआवश्यक सामग्री सहयोग गरेको बताउनुभयो ।
अहिले धेरै पीडित आफन्तकामा आश्रय लिएको हुँदा खानेकुरा र लत्ताकपडाको समस्या नभएको उहाँको भनाइ छ । गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउनुहुन्छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

