पोखरामा चाडपर्वका कारण रगत अभाव, रक्तदान गर्न आह्वान
पाेखरा | कात्तिक ६, २०८१
कास्की: चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो ।
केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।
“दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेङ्गुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ”, ज्ञवालीले भन्नुभयो ।
आकस्मिक कार्यक्रम गर्न गरिएको आह्वानपछि विभिन्न सङ्घसंस्थाले कार्यक्रम राखेका उहाँले जानकारी दिनुभयो । “हामीले अभाव महसुुस गरेपछि आह्वान गर्छौं र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ”, ज्ञवालीले भन्नुभयो ।
डेङ्गु सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
प्रदेशका अन्य अस्पतालहरुबाट पनि यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग रगतको बढी हुने गर्दछ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

