असोजमा ९ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

सोलुखुम्बु | कात्तिक १०, २०८१

असोजमा ९ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

सोलुखुम्बु:     विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । 


गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

    
जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

    
चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो । 

    
“यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भन्नुभयो । 

    
सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । 

    
सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । 

    
पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । 

    
सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्