सडकको पहुँचले मलैबासीलाई सहज
दाङ | मंसिर ३, २०८१

दाङ: दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो ।
बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ । “पहिलो सडक नहुँदा धेरै गाह्रो थियो, चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट बर्खामा पनि सवारी चलाउन मिल्ने गरी सडक स्तरोन्नति गरिनेछ”, स्थानीय बमबहादुर बुढाले भन्नुभयो । उहाँले प्रदेशसभा सदस्य धनबहादुर मास्कीलाई अनुरोध गरेपछि बजेट विनियोजन भएको उल्लेख गर्दै बजेटलाई बहुवर्षीय बनाउने गरी पहल भइरहेको बताउनुभयो ।
साथै पछिल्लो समय यहाँ सञ्चारको पनि सुविधा पुगेको छ । केही वर्षअघिसम्म फोन गर्नका लागि दुई घण्टा हिँडेर डाँडोमा जानुपथ्र्यो । हाल कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ ।
आगामी वैशाखदेखि टेलिकमको पनि सेवा पुग्ने वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । “फोन नलाग्ने यहाँको मुख्य समस्या हो”, उहाँले भन्नुभयो, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सञ्चालनमा आउँछ ।”
मलैको बस्ती राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बँदेल, बाँदरलगायतबाट बाली जोगाउन गाह्रो हुन्छ । केही स्थानमा तारबार लगाइए पनि अधिकांश ठाउँमा तारबार छैन ।
राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेकाले त्यसलाई सम्बोधन गर्ने आश्वासन आएको स्थानीय टोपबहादुर बस्नेतले बताउनुभयो । मलैमा दुईवटा विद्यालय छन् ।
तीमध्ये सरस्वती प्रावि जलजलामा कक्षा ५ सम्म पढाइ हुन्छ भने देउती मावि तल्लो मलइमा कक्षा १० सम्म पढाइ हुन्छ । कक्षा ११ देखिमाथिको कक्षाका लागि भने तुलसीपुर वा घोराही पुग्नुपर्ने अवस्था छ ।
कक्षा १२ सम्म सोही ठाउँमा पढाइ हुने वातावरण मिलाउनुपर्ने स्थानीय बस्नेतले बताउनुभयो । खानेपानी र सिँचाइको भने सहज पहुँच छ । विद्युत् पनि दुई वर्ष अघि पुगेको छ ।
विद्युत् पुगेपछि त्यहाँका नागरिकलाई थप सहजता भएको छ । एउटा स्वास्थ्य चौकी छ । त्यसलाई थप सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
बसाइँसराइ बढ्दै
सोही क्षेत्रबाट बसाइँसराइ गरेर बाहिर जानेको सङ्ख्या भने घटेको छैन । प्रत्येक वर्ष १० देखि १५ परिवार बसाइँसराइ गरेर बाहिर जाने गरेका छन् ।
तर, अब सञ्चार र सडकको पहुँच पुग्ने वित्तिकै बसाइँसराइ पनि घट्ने अपेक्षा गरिएको स्थानीय सिवानी बस्नेतले बताउनुभयो । “सडक र सञ्चारको विकास हुन लागेको छ”, उहाँले भन्नुभयो, “त्यो विस्तार भएमा बसाइँसराइ पनि घट्छ कि भन्ने लागेको छ ।”
जनगणना २०७८ अनुसार तीनसय २५ घरधुरी भए पनि अहिले करिब दुई सय मात्रै बाँकी छन् ।
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...
पोखराः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...
काठमाडौं: काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...