माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन्: अध्यक्ष दाहाल
गोरखा | मंसिर ५, २०८१
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) गोरखाले सदरमुकाममा आज आयोजना गरेको एक कार्यक्रममा उहाँले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।” उहाँले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताउनुभयो ।
अध्यक्ष दाहालले माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पुर्याउन हिचकिचाउन नहुने भन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गर्नुभयो ।
“पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्यौँ”, उहाँले भन्नुभयो, “त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले गर्यौँ ।”
तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्यो ।”
माओवादी आफ्नो वर्गसँग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष दाहलले अब फेरि जनतासँग जोडिएर देश, जनता र लोकतन्त्रकाविरुद्ध हुने सबैखालका षडयन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

