पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
पाल्पा | मंसिर १३, २०८१
पाल्पा: जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष यहाँ ३४ हजार ७ सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ३ दशमलव ६ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उहाँले बताउनुभयो ।
“केही स्थानामा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो”, प्रमुख चौधरीले भन्नुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लामा ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष ८ हजार २ सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।
गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।
सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताउनुभयो ।
“रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ”, उहाँले भन्नुभयो ।
जिल्लामा साबित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

