आफ्नो गाउँठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
पाेखरा | मंसिर १४, २०८१
पोखरा: सहरछेउ भएर पनि पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट विकासका दृष्टिले पछाडि पारिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
संसदीय पत्रकार मञ्चले बिहीबार कास्कीकोटमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनीहरूले खानेपाली, यातायातलगायत आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको सुनाए ।
स्थानीय रामकुमारी सुवेदीले पामे, चिसापानी हुँदै कास्कीकोट जोड्ने सडक निर्माण नहुँदा सास्ती भएको दुखेसो पोख्नुभयो । स्थानीय हर्कबहादुर नेपालीले २० वर्षअघिको खानेपानी आयोजना जीर्ण अवस्थामा पुगेकाले खानेपानी वितरणमा समस्या आइरहेको बताउनुभयो ।
आफ्नै वडामा मुहान नहुँदा कास्कीकोटवासीले खानेपानीको समस्या झेल्दै आएका उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारले सात वर्षअघि ‘एक घर, एक धारा’ कार्यक्रम घोषणा गरेपनि प्रदेश राजधानी रहेकै वडामा उक्त योजना अधुरै रहेको उहाँको कथन थियो ।
बुद्धिबहादुर बस्नेतले दाहसंस्कार गर्न शव घाट पु¥याउने बाटो जीर्ण हुँदा गाउँलेले सास्ती व्यहोर्नुपरेको दुखेसो गर्नुभयो । कास्कीकोटबाट देउराली, सुइखेत हुँदै सेतीकिनार जाने बाटो निर्माण भएको छैन ।
कास्कीकोटलाई महानगरका अन्य वडासँग जोड्ने सम्पर्क सडक निर्माण थालिएको वर्षौँसम्म पनि काम पूरा हुन नसकेको बस्नेतले बताउनुभयो । पर्यटकीय पदमार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष विष्णुहरि शर्माले ऐतिहासिक महत्वको कास्कीकोट दरबार क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउनुभयो ।
कास्कीकोट स्वास्थ्यचौकीका प्रमुख विश्वराज तिवारीले स्वास्थ्यचौकीमा पूर्वाधार र सामग्रीको अभाव रहेको बताउनुभयो । उहाँले पटकपटक माग गर्दा पनि स्वास्थ्यचौकी व्यवस्थापकीय सुधारमा सम्बन्धित निकायले चासो नदिएको बताउनुभयो ।
कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले गाडा, पोशाक र पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदा पनि विद्यार्थी सङ्ख्या बढाउन नसकिएको बताउनुभयो ।
भौगोलिक अवस्थितिका कारण पनि महानगरको विकट वडाका रुपमा कास्कीकोटलाई लिइने गरिएकामा राज्यबाट कास्कीकोट उपेक्षामा परेको स्थानीयवासीको गुनासो थियो ।
वडाध्यक्ष भरतबहादुर अधिकारीले महानगरको सीमित स्रोतसाधनका कारण जनअपेक्षाबमोजिम विकास निर्माणका कामलाई गति दिन नसकिएको तथा निर्माण व्यवसायीको लापरबाहीका कारण सडक आयोजनामा ढिलासुस्ती भएको स्वीकार गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले लौरुक लिफ्टिङ खोनपानी आयोजनाले कास्कीकोट खानेपानी समस्या सधैँका लागि समाधान गर्ने बताउनुभयो । “कामका कुनै अवरोध भएन भने आगामी चैतभित्र आयोजनाको काम सम्पन्न हुनेछ ।”
प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आवश्यकताका आधारमा बजेट र योजना छनोट हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारलाई जनमुखी बजेट निर्माण र कार्यान्वयनलाई चुस्त बनाउन आग्रह गर्नुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

