सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

काठमाडाैं | मंसिर १७, २०८१

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

अछाम:    नेपाल सरकारको प्राथमिक  योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण सुरु गरिएको थियो । 


सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त  गतिमा भइरहेको छ ।भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ । 


नेपाल(भारत–चीन) जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर,  बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित २ सय ४ किमी सडक खण्ड पर्दछ । 


जसमध्ये अछाममा ५७ किमी र कैलालीमा ७० किमीसहित एक सय २७ किमी ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । अछामखण्डको २३ र कैलालीको २ किमी, डोटीको ४० र बाजुराको १२ किमी ट्याक खोल्न बाँकी रहेको छ ।सडक विभागले बजेट सुनिश्चितता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्र्याक खोल्न रूख कटानको आदेश नआउदा निर्माणको काम अवरुद्ध भएको थियो । 


हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग (दक्षिण खण्ड)टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।  यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ  भने दुई वटा पुल निर्माणाधीन अवस्थामा छन् । 


त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने थप एउटा पुल बोलपत्र प्रक्रियामा छ । उत्तरीखण्डअन्तर्गत बझाङ जिल्लामा १ सय २८ किलोमिटर सडक पर्दछ । कैलाली खण्डमा १४ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ । 


यस लोकमार्गको कुल लम्बाइ ३ सय ५९ किमी रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणीखण्डमा गरी रु ७० करोड बजेट विनियोजन गरिएको छ ।


लोकमार्गको १४४ किमी पहिलो पटक पैदलयात्रा


सुदूरपश्चिमको गौरव आयोजनाका रूपमा रहेको लोकमार्गको एक टोलीले पहिलोपटक पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दको टोलीले हालै साँफेबगरदेखि कैलालीसम्मको  एक सय ४४ किमी यात्रा गरेर सडकखण्डको वस्तुस्थित बुझेको हो । 


यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको थियो । पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिणखण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको उहाँले बताउनुभयो ।


सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ । यसले नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तडलगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग हुनेछ । यस्तै, भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्