बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो
ललितपुर | मंसिर २१, २०८१

ललितपुर: यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि २ सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो ।
जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ ।
महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो ।
कात्तिकको अन्तिम साता नख्खु खोल आसपासमा किसानले पालेका बङ्गुरमा रोग देखिएर मर्न थालेका बताउँदै अहिले पनि सङ्क्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “रोग फैलिँदै गएको छ । अहिलेसम्मको तथ्याङ्कका आधारमा किसानका २ सय भन्दाबढी बङ्गुर मरेका छन् । अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको ।”
बङ्गुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बङ्गुर मरेका हुन् । २ सयबढी बङ्गुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले बताउनुभयो ।
“अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा छिटो सर्ने भएकाले बङ्गुरलाई दानापानी दिँदा सतर्कता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “एकअर्काबीच पनि सङ्क्रमण फैलिन सक्ने भएकाले सचेत भएर पशु स्याहार गर्नुपर्छ । सङ्क्रमण थप नफैलियोस भनेर किसानलाई उचित सल्लाह दिएका छौँ ।”
बङ्गुरलाई उक्त सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बङ्गुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महानगरभित्रका किसानले पालेका बङ्गुरमा रोग देखिएका छ । पशु शाखाले त्यसको न्यूनीकरण गर्ने लागि पहल गरिरहेको छ ।”
अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पश स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताउनुभयो । “सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने गर्छ”, उहाँले भन्नुभयो ।
गत असोज १२ गते नख्खु खोलामा आएको बाढीले सङ्क्रमण बगाएर ल्याएकाले करिडोर क्षेत्रमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हुनसक्ने पशुसेवा कार्यालयका प्रमुख न्यौपानेले बताउनुभयो ।
“बङ्गुर मर्नेक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमण महामारीका रूपमा फैलिन नदिन यस क्षेत्रमा अत्यावश्यकबाहेक आवातजावतमा रोक लगाएका छौंँ । किसानलाई सुरक्षाका सामग्री र औषधिसमेत उपलब्ध गराएका छौँ ।”
प्रमुख न्यौपानेले सङ्क्रमण भएमा एक सय चारदेखि एक सय सातडिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने जानकारी दिनुभयो ।
काठमाडौं: आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...
काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न ...