बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
म्याग्दी | मंसिर २४, २०८१

म्याग्दी: अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ ।
पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ ।
“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।
जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउनुहुन्छ । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताउनुभयो ।
“फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताउनुभयो ।
“बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो ।
घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हँुदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...
काठमाडौं: गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...
पोखरा: पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...