संसद् अधिवेशन आजदेखि
काठमाडाैं | माघ १८, २०८१
काठमाडौँ: सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ ।
बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।
अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ ।
सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् ।
संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ ।
यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे अध्यक्ष मण्डलमा नाम मनोनयन गर्ने अभ्यास छ ।
यस्तै बैठकमा अधिवेशन चालु नरहेको बेला सरकारको सिफारिसमा जारी भएका अध्यादेश पेस हुने छन् । यसबिचमा छ वटा अध्यादेश जारी भएका छन् ।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा पेस हुने छन् ।
यस्तै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि सभामा पेस हुने छ । सहकारीबाहेकका पाँच अध्यादेश सरकारले एकैपटक सिफारिस गरेको थियो । सिफारिस अनुसारै राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए ।
बैठकमा दुई शोक प्रस्ताव पनि पेस हुने छन् । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा सभामा शोक प्रस्ताव पेस र पारित हुने छ ।
यस्तै संविधान सभा सदस्य रामजी शर्माको निधनमा पनि शोक प्रस्ताव पारित हुने छ । २०४८ मा सभामुख रहनुभएका ढुङ्गानाको मङ्सिर २ गते निधन भएको थियो । २०६४ मा संविधान सभा सदस्य रहनुभएका शर्माको माघ ७ गते निधन भएको थियो ।
पहिलो दिनमै अध्यादेश पेस हुने
यसै गरी सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा एकै दिन छ वटा अध्यादेश पेस हुने गरी कार्यसूची तय भएको छ । राष्ट्रिय सभाको १६औँ अधिवेशन गत भदौ १६ गते अन्त्य भएको थियो । सदन सञ्चालन नभएको अवस्थामा ल्याइएको अध्यादेश सरकारले संसद् अधिवेशन सुरु हुनासाथ पेस गर्ने गरी कार्यसूची तय भएको हो ।
अधिवेशनको पहिलो बैठक सुरु हुनासाथ अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुहुने छ । बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुहुने छ ।
मङ्गलबार सम्पन्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराइने छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई वटा विधेयकको प्रतिवेदन तयार गरेकाले समितिका सभापति तुलसाकुमारी दाहालले दुवै प्रतिवेदन शुक्रबारकै बैठकमा सभामा पेस गर्नुहुने छ ।
समितिले मिडिया काउन्सिल विधेयक–२०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१ को प्रतिवेदन सभासमक्ष पेस गर्ने छ । संसद् सचिवालयका अनुसार शुव्रmबारकै बैठकमा सरकारले छ वटा अध्यादेश सभामा पेस गर्ने छ । अधिवेशन नचलेको अवस्थामा सरकारले छ वटा अध्यादेश ल्याएको थियो ।
सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१” सभासमक्ष पेस गर्नुहुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।
त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुहुने छ । शुक्रबारको बैठकमा चार वटा शोक प्रस्ताव पेस हुने छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

