महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
काठमाडाैं | फागुन १३, २०८१
काठमाडौं: यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।”
उहाँले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई÷दुई वटा लाइन रहने जानकारी दिनुभयो । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गर्नुभयो ।
“हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ”, संयोजक खत्रीले भन्नुभयो ।
उहाँले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।
सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ ।
महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।
मुस्ताङ: प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रप...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्...
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

