फेवा महोत्सव चैत ३० देखि, होटलमा २० प्रतिशत छुट

पाेखरा | चैत ४, २०८१

फेवा महोत्सव चैत ३० देखि, होटलमा २० प्रतिशत छुट

पोखरा:  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ ।


संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको जानकारी दिएको हो । 


महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे ।


यसैगरी संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै संचालन गरिने जानकारी उनले गराए । 


जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको तथ्यांक पनि उनले दिए । दुई दशक अघि यस्तो संख्या तीन प्रतिशत मात्र रहेको उनले स्मरण गराए ।


पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी रहेको जानकारी पनि अध्यक्ष सुवेदीले गराए । भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आंकलन छ ।  


स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । 


रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन् ।


पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि लिएको छ । 


अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । 


सांस्कृतिक झाँकीसहित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् ।


पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राखे । 


आयोजक संघको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सकारात्मक माहोलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने भनाई राखे । नेपाल पत्रकार महासंघ कास्कीका सभापति माधव वरालले पोखरा आउने पर्यटकको तथ्यांक राख्न सम्वन्धित संस्थालाई सुझाव दिए ।
 

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्