मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत
मुस्ताङ | चैत २८, २०८१

मुस्ताङ: यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ ।
म्याग्दीका साबिक छवटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।
मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो ।
म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।
मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ ।
संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो ।
जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ ।
त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।
अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ ।
साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...