तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह

तनहुँ | बैशाख १, २०८२

तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह

तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । 


डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताउनुभयो । 


उहाँले भन्नुभयो, “चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटक–पटक देखिएको छ । साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ ।”


चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो । फूपुदिदीको घरमा जाँदै गरेको बेलामा चितुवाको आक्रमणमा परेकी विकको शव जङ्गलमा भेटिएको थियो ।  


डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ । 


त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न कार्यालयको अनुरोध छ । 


तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । 


चितुवाको आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । 


मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । 


जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो । 


पण्डितले भन्नुभयो, “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छाँै । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्