मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
चितवन | असार ८, २०८२
File photo
चितवन: मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो ।
पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए ।
भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो ।
क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ ।
मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।
नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ । मौसमले साथ दियो भने थप दुई किमी कालोपत्र गर्दै छौँ ।’ आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदै छ ।
‘यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ ।
यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो(ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ’, इञ्जिनीयर दरैले भने । उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ ।
विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ ।
शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

