असहाय गाईबाच्छाको उद्धारका लागि एम्बुलेन्स खरिद गर्न कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग
काठमाडाैं | साउन २४, २०७९
सांकेतिक तस्बिर
कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न रु २३ लाख आर्थिक सहयोग गरेको छ ।
नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई सोमबार रु २३ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ । अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ ।
एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताउनुभयो । यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ । लक्ष्मीमाताका रूपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो ।
सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशील असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय गाईबाच्छाले संरक्षण पाइरहेका छन् । अभियानअन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ ।
स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ । समर्थनस्वरूप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ । एम्बुलेन्सको आगमनसँगै अभियानमा नयाँ आयाम थपिने भएको छ ।
आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ । कोषको गुरुयोजनाअनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

