जनप्रियको गरिमा कायम राख्न प्रतिवद्ध छु: अध्यक्ष राजेन्द्र पहारी

पाेखरा | पुस ६, २०८२

जनप्रियको गरिमा कायम राख्न प्रतिवद्ध छु: अध्यक्ष राजेन्द्र पहारी

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


आइतबार क्याम्पस परिसरमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले प्राप्त गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको तेस्रो चक्रको प्रमाणपत्र हासिल गर्न आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे । 


पद तथा गोपनीयताको शपथ लिँदै अध्यक्ष पहारीले आफ्नो तीनवर्षे कार्यकाल (२०८२–२०८५) को मार्गचित्र प्रस्तुत गरे । उनले गण्डकी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र श्रमबजारको मागअनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने कुरालाई आफ्नो बटमलाइन बनाएका छन् ।


‘मेरो नेतृत्व क्याम्पसको समृद्धि, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतामा केन्द्रित हुनेछ,’ अध्यक्ष पहारीले भने, ‘हामी सबै पक्षलाई समेटेर, सबैसँग हातेमालो गर्दै जनप्रियलाई नाम जस्तै साँच्चिकै ‘जनप्रिय’ बनाउन समर्पित हुनेछौँ ।’  उनले क्याम्पसको नेतृत्व गर्दा ‘म’ भन्दा माथि उठेर ‘हामी’ भन्ने सामुदायिक भावनाको विकास गर्ने विश्वास दिलाए ।


क्याम्पसको ३४औँ वार्षिकोत्सवका अवसरमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट निर्वाचित अध्यक्षसहित ११ जना सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।


निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता बोधराज बरालले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । 


शपथ लिने सदस्यहरूमा गणेशबहादुर अधिकारी, नम्रता बराल, तिलकराम पौडेल, गिरिराज चालिसे, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल, इन्द्रप्रसाद पौडेल, इन्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल र हेमबहादुर थापा पराजुली रहेका छन् । २५ सदस्यीय सञ्चालक समितिमा निर्वाचित बाहेकका सदस्यहरू मनोनयन र पदेन रहने व्यवस्था छ ।


पदस्थापना समारोहमा क्याम्पसका अग्रज तथा सरोकारवालाहरूले शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त राख्नुपर्नेमा विशेष जोड दिएका थिए । संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार तथा पूर्वअध्यक्ष दामोदर चालिसे, पूर्व कार्यवाहक अध्यक्ष परशुराम बराल, र निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे लगायतले नवनिर्वाचित समितिलाई बधाई दिँदै क्याम्पसलाई केन्द्रविन्दुमा राखेर काम गर्न सुझाव दिए ।


वक्ताहरूले भने, ‘राजनीतिक विचारधारा र आस्थालाई क्याम्पसको गेट बाहिरै राखेर भित्र केवल नतिजामुखी काममा केन्द्रित हुनुपर्छ । सामुदायिक भावना र क्रियाशीलताले मात्र जनप्रियको साख जोगिनेछ ।’ सो अवसरमा पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगरले पनि शैक्षिक गुणस्तरमा नयाँ समितिले विशेष ध्यान दिनुपर्ने बताए ।


कार्यक्रममा निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नवनिर्वाचित अध्यक्ष र सदस्यहरूलाई खादा ओढाएर स्वागत गरेका थिए भने क्याम्पस प्रमुख कृष्णबाबु बरालले अबिर लगाएर बधाई ज्ञापन गरेका थिए । 


निर्वाचन समितिका संयोजक अधिवक्ता बोधराज बरालको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन निर्वाचन समिति सदस्य चेतबहादुर पोखरेलले गरेको क्याम्पसका उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्