लेखनाथ महोत्सव: सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

पाेखरा | पुस ८, २०८२

लेखनाथ महोत्सव: सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

पोखरा:   लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ ।


हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ ।


सुन्तलाबाट महोत्सवसम्मको यात्रा सुरुआती दिनमा सुन्तला उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर सुरु गरिएको महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ। महोत्सवले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव पार गर्दै २०८२ सालसम्म आइपुग्दा २१औँ संस्करण सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।


महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन्। उनका अनुसार महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याएको छ ।


कृषि बहस ः अनुभव, चुनौती र नीति सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न कृषि क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव र सफलताका कथा प्रस्तुत गरेका थिए ।


माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालन सुरु गर्दा भोग्नुपरेका चुनौती, बजार व्यवस्थापन र प्रविधिको महत्वबारे चर्चा गरे । 


अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको परिवर्तन र जोखिमबारे अनुभव सुनाए ।


त्यसैगरी, पोल्ट्री व्यवसायी बाबुराम गिर ले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे धारणा राखे ।


कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य आवश्यक रहेको बताए ।


कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न कृषक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


संस्कृति र साहित्यसँग जोडिएको महोत्सव कृषि र व्यापारसँगै लेखनाथ महोत्सव सांस्कृतिक तथा साहित्यिक गतिविधिको केन्द्र पनि बनेको छ । सोमबारका लागि तय गरिएका रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू तालिकाअनुसार सञ्चालन भइरहेका छन् ।


कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा दर्शक सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ । साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी तथा कृतिबाट २१ प्रश्न सोधिने र सही उत्तर दिने प्रत्येक विजेतालाई एक हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


यस वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल लाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि महोत्सवको महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ ।


दर्शक र आर्थिक कारोबारमा वृद्धि भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको उनले जानकारी दिए । महोत्सवका आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।


समृद्धिको आधार बन्दै लेखनाथ महोत्सव स्थानीय उत्पादनको बजारीकरण, साना व्यवसाय प्रवद्र्धन, कृषकको हौसला र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको छ। अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्