पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्था जानकारी दिने क्यामेरा जडान
म्याग्दी | कात्तिक ५, २०७९
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले समुद्री सहतदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मोहरेडाँडामा क्यामेरा जडान गरेको हो ।
केन्द्रका अध्यक्ष महावीर पुनले पोखरा–जोमसोम हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्ने गरी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरेको क्यामेरा परीक्षणका क्रममा छ । “तीन हजार तीन सय मिटर र दुई हजार तीन सय मिटर अग्लो डाँडामा क्यामेरा राखिएको छ”, उहाँले भन्नुभयो, “क्यामेराले हवाई मार्गमा पर्ने भूगोलमा खिच्ने ताजा दृश्य पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट अवलोकन गर्न सकिन्छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा क्यामेरा जडान गरिएको पुनले बताउनुभएको छ । क्यामेरा र कन्ट्रोल रुमलाई इन्टरनेटको लिङ्कबाट जोडिएको छ । चारैतिरको दृश्य हेर्न मिल्ने गरी क्यामेरा राखिएको ठाउँमा वल्र्ड लिङ्क कम्युनिकेसनले निःशुल्क इन्टरनेट प्रदान गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा आविष्कार केन्द्रले देशका अरू पनि जोखिमपूर्ण ठाउँमा पनि यस्तै क्यामेरा राख्न अध्ययन गरिरहेको पुनले बताउनुभयो । पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दी खण्डको मौसमका बारेमा स्थानीयवासीलाई फोन गरेर जानकारी लिने गर्दछन् । यो मार्गमा पछिल्लो आठ वर्षको अवधिमा भएका दुईवटा हवाई दुर्घटनामा ४५ जनाको ज्यान गएको छ । गत जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
विसं २०७२ फागुन १२ गते पोखरादेखि जोमसोम जाँदै गरेको तारा एयरकै अर्को जहाँज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सोलीघोप्टेमा पहाडमा ठोक्किदा २३ जनाको ज्यान गएको थियो । खोँचमा रहेको म्याग्दी खण्डको उडानका क्रममा टावरसँग सम्पर्क नहुने, मौसमको अवस्था छिनछिनमा परिवर्तन हुने र पूर्वजानकारी नहुँदा जोखिम थियो । जोखिम न्यूनीकरणका लागि मौसमको अवस्थाबारे जानकारी लिन क्यामेराले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

