चाडपर्वको ऋण तिर्न बालुवामा सुन खोज्न हिँडे बोट
तनहुँ | कात्तिक १४, २०७९

तनहुँ : व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् ।
नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब रु ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उहाँले बताउनुभयो ।
साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उहाँले भन्नुभयो, “दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।”
क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् ।
सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकँुडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिनुभयो ।
काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् ।
बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताउनुभयो ।
नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिनुभयो ।
बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उहाँले बताउनुभयो ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...