चिसो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै

पर्वत | कात्तिक १४, २०७९

चिसो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै हिमाल पारिको जिल्ला मुस्ताङको ठिनी गाउँबाट देखिएको सदरमुकाम जोमसोम र जोमसोम माथिको भूगोलको दृश्य

पर्वत : चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । 

 

वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।


        
चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् ।


    
चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिनुभयो । उहाँ अहिले पर्वतका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहनुभएको छ । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेँसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको बताउनुभयो । उक्त क्षेत्रमा विद्यालयसमेत बन्द भइसकेका छन् भने कर्मचारीसमेत फाट्टफुट्ट बस्ने गरेका छन् । 
        


“धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ”, मुस्ताङमा अध्ययपनरत शिक्षक राजकुमार पोख्रेल भन्नुहुन्छ, “अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ ।


    
यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले सुनाउनुभयो ।

 

उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेँसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीको विशेषता रहेको पाइन्छ । 

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...

थप पढ्नुहोस्

गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

थप पढ्नुहोस्