रित्तो खल्ती चुनावमा होमिए महादेव, भन्छन्– ‘इमानदारिता मेरो शक्ति’
पाेखरा | कात्तिक १७, २०७९
पोखरा: कास्की क्षेत्र नम्बर २ बाट जसै महादेव गुरुङले प्रतिनिधिसभामा उम्मेदवारी दिए, नेपाली कांग्रेस र गठबन्धनमा भुइँचालो गयो । तरपनि महादेवले उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन विश्वस्त थियो ।
उनलाई उम्मेदवारी फिर्ता लिन स्वयं पार्टी सभापति शेरबहादुर देउवाले फोनमार्फत आग्रह गरे । तर त्यो आग्रहले पनि काम नगरेपछि अहिले गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल तनावमा छन् ।
‘सभापतिज्यूले नै फोन गरेपछि उहाँले फिर्ता लिनुहुन्छ भन्नेमा हामी ढुक्क थियौं’ नेकपा (एकीकृत समाजवादी) कास्कीका एक नेताले भने ‘तर उहाँले फिर्ता लिनुभएन, यसले हामीलाई समस्यामा पा¥यो ।’ यद्यपि, उनले बरालले नै जित्ने दाबी भने गरेका छन् ।
त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पोखरा आएकाबेला महादेवलाई भेटेर आग्रह गरे । उक्त आग्रह पनि काम लागेन, नेपाल निराश भएर फर्किए ।
कांग्रेस र एसका प्रमुखले गरेको अनुरोध, आग्रहमा थोरै आश्वासन र लोभ देखाइएको महादेवले बताए । उनले भने, ‘मैले बार्गेनिङ् गर्न उम्मेदवारी दिएकै हैन, म सत्य र निष्ठाको राजनीतिमा लागेको मान्छे हुँ ।’
उम्मेदवारी दिएपछि फिर्ता गर्न अनुरोध गर्ने क्रममा कांग्रेसले ‘जे पनि दिन तयार’ रहेको जानकारी दिँदै महादेवले त्यसपश्चात् आफुलाई झनै साहस मिलेको बताए ।
‘मलाई जे मागेपनि दिन तयार रहेको बताइयो’ महादेवले भने ‘तर मैले पद र पैसा लागि राजनीति गरेकै होइन भनिदिए ।’ त्यसपछि झनै चुनावमा होमिन बल मिलेको उनको भनाई छ ।
आजदेखि उम्मेदवारहरुले प्रचारप्रसारमा तीब्रता दिन थालेकोबेला महादेव भने सिद्धार्थचोक भन्दा केही उत्तरमा रहेको सय वर्ष पुरानो घरमा एउटा ब्यानर झुण्डाएर बसेका छन् ।
पुरानो घरको साँघुरो बरण्डामा २–४ थान कुर्सीसाथ महादेवसँगै अर्का उम्मेदवार दुर्गाप्रसाद कोइरालाले चुनावी मोर्चा सम्हालिरहेका छन् । कोइराला क्षेत्र नम्बर ३ बाट पुतली चिन्हमै स्वतन्त्र उम्मेदवार हुन् ।
‘कति छ चुनावमा खर्च गर्ने पैसा ?’ भन्ने प्रश्नमा केही गम्भीर देखिएका महादेवले भने ‘तीन छोरीले २ लाख पठाए, साथीभाईले सम्पर्क कार्यालय खोलिदिए, ब्यानर बनाइदिए, मेरो खल्ती रित्तो छ ।’
तुरुन्तै सोधियो, ‘रित्तो खल्तीले चुनाव लडेर जितिन्छ र ?’ महादेवको जवाफ छ, ‘चुनाव जित्न पैसा हैन, शक्ति चाहिन्छ । र, इमानदारिता मेरो शक्ति हो ।’
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

