थापालाई हराउन सक्ने ३ तुरुपः ‘महिला, गुरुङ र लाहुरे परिवार’

पाेखरा | कात्तिक २७, २०७९

थापालाई हराउन सक्ने ३ तुरुपः ‘महिला, गुरुङ र लाहुरे परिवार’

पाेखरा:  ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सदस्यमा लडेका राजकाजी गुरुङको हार्ने छाँटै थिएन । लालकिल्ला भनि चिनिएको यस क्षेत्रमा वाम गठबन्धनका युवानेता गुरुङका प्रतिष्पर्धी थिए नेपाली कांग्रेसका विन्दुकुमार थापा । त्यसबेला मतदान र नतीजा घोषणाको मितिमात्रै कुरेर बसेका थिए गुरुङ र उनको गठबन्धन । 

 

तर जसै निर्वाचन परिणाम आउँन सुरु भयो, नेकपा एमाले र नेकपा माओवादीका साझा उम्मेदवार गुरुङले व्यापारिक पृष्ठभूमिका थापालाई पच्छ्याउन सुरु गरे । अन्तिममा थापाले गुरुङलाई हराएर आफुलाई राजनीतिमा स्थापित गराए । 

 

अहिले थापा पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा छन् । र, उनको विरासत ढाल्न एमालेले मिना गुरुङलाई उतारेको छ । पहिले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेका थापासँग अहिले सोही मोर्चाको माओवादी र एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी) जोडिन आइसकेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार थापा सर्सती हेर्दा बलिया उम्मेदवार देखिएका छन् ।

 

साथै, थापा पोखरेलीकालागि परिचित नाम हुन् । प्रायः व्यापारी वर्गले राजनीतिक शक्तिसँग धेरथोर साँठगाँठ गर्न चाहिरेका हुन्छन् । यस्तोमा पोखरा उद्योग वाणिज्य संघ हाँकिसकेका र प्रदेश मन्त्री भइसकेका थापालाई पुनः जिताउने चाहना व्यापारीहरुको रहेको छ । त्यस्तै, राजनीतिमा फड्को मार्न आवश्यक तुरुप खेलाउन सक्ने थापाको क्षमता रहेको छ । 

 

यता, एमाले उम्मेदवार गुरुङ पनि समानुपातिकबाट प्रदेशको सभासद रहिसकेकी छिन् । युवा जनमानसमा गतिलो छाप छाड्न नसकेको देखिए पनि राजनीतिमा मूल संरचना मानिने जनस्तरको कम्युनिष्ट राजनीतिक कौशलमा गुरुङ अब्बल मानिन्छिन् । 

 

सौन्दर्य व्यवसायमा नाम कमाएकी गुरुङ वास्तवमै कम्युनिष्ट नेता हुन् । झट्ट हेर्दा अपत्यारिलो लागे पनि गुरुङसँग संगठन निर्माणको कौशल भरिपूर्ण छ । एमालेको मजदुर फाँटमा उनी केन्द्रीयस्तरको नेता भएकाले गुरुङलाई यसपटक समानुपातिकबाट पाएको अवसरलाई प्रत्यक्षमा जितेर आफुुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । 

 

गुरुङलाई जनस्तरको राजनीति गर्ने र सांगठनिक कुशलताले भरिपूर्ण भनिरहँदा स्थानीय निर्वाचको आंकडाले भने गिज्याउने गरेको छ । अर्थात् उनकै वडामा एमाले कांग्रेसभन्दा धेरै पछि रह्यो । 
वडा नम्बर ११ मा कांग्रेसबाट चुनिएका वडाध्यक्षले  १ हजार ५७४ मत ल्याउँदा एमालेको मत ८ सय ५५ मात्र रहेको छ । 

 

निर्वाचन मिति नजिकिँदै जाँदा गुरुङका प्रतिष्पर्धी थापाको चुनावी प्रचार व्यापक छ । भौतिक प्रचार त छ नै प्रविधिमार्फत थापा झनै आक्रामक देखिएका छन् । मन्त्री भइसकेका थापाले यस क्षेत्रमा पहिल्यैदेखि रणनीतिक चाल चलेका छन् । भोट कहाँ छ, र उनीहरुलाई कसरी आफ्नो पकडमा राख्न सकिन्छ भनेर उनले विनियोजन गरेको बजेट र आफुले पाउने सेवा, सुविधाको वितरणबाटै प्रष्ट हुन्छ । 

 

यद्यपि, यस्तो आधार र विश्लेषणले थापालाई जीत हात पार्न सजिलो भने छैन । मुख्यतः यसपटक थापा नेकपा एमालेका उम्मेदवारसँग भिड्दैछन् । जससँग पार्टीमात्र हैन, समुदाय पनि छ । कास्कीलाई कुनैबेला तमुवान राज्यको नाम दिइनुपर्छ भन्ने समुदाय अझैपनि गुरुङ उम्मेदवारप्रति उदार छन् । 

 

अहिले पोखरामा गुरुङ समुदायका अगुवाहरु पार्टीभन्दा माथि उठेर आफ्नो जात, थरलाई जसै भोट हाल्नुपर्छ भन्ने अभियानमा छन् । बाहिर हेर्दा मेसो पाउन सकिन्न तर समुदायका सदस्यहरु साना–साना समूहमा गुरुङको घर पहिल्याउँदै भोट माग्न व्यस्त छन् । समूहका हातमा थापाका प्रतिष्पर्धीसँगै अन्य क्षेत्रका गुरुङ उम्मेदवारका पर्चा, पम्प्लेट भेटिन्छन् । 

 

यससँगै गुरुङको पृष्ठभूमि ‘लाहुरे’ भएकाले उनलाई भूतपूर्व सैनिक परिवारको समेत साथ रहेको छ । एउटै घरबाट युवाहरुले थापालाई मत दिएपनि जेष्ठ सदस्यहरुले भने गुरुङलाई सहयोग गर्न सक्छन् ।

 

यस क्षेत्रमा महानगरका ६ वडा छन् । जसमध्ये स्थानीय निर्वाचमा ४ वडा कांग्रेसले जितेको छ भने २ मा एमालेको पकड रह्यो । यसमध्ये वडा नम्बर ४, ९, ११ कांग्रेसको राम्रै पकड भएको वडा हो । 

 

यहाँ गठबन्धनले १० हजार ७ सय ७५ मत पाएको छ । जसमध्ये कांग्रेसकोमात्रै ९ हजार ९९२ मत रहेको छ । सहयोगी दल माओवादीको ५ सय ४४ र एसको २ सय ४२ मत रहेको छ ।  एमालेले ९ हजार ६३१ मत पाएको थियो । 

 

उक्त आंकडालाई हेर्दा कांग्रेसको मत नै एमालेको भन्दा बढी देखिन्छ । तरपनि प्रतिष्पर्धीबीच फरक मतको संख्या भने ११ सयको हाराहारीमामात्रै छ । यस्तो स्थितिमा महिला, लाहुरे र गुरुङ समुदाय एमालेको जित्ने आधार हो भने गठबन्धनको इमानदारिता थापाको ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।  आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ...

थप पढ्नुहोस्

काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।&n...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण ...

थप पढ्नुहोस्