मकै र कोदो फल्ने बारीमा किवी खेती

म्याग्दी | मंसिर २, २०७९

मकै र कोदो फल्ने बारीमा किवी खेती

म्याग्दीः   म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । 


पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा बोटबाट किवी खेती सुरु गर्नुभएको थियो । 


“वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।”


पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाउनु भएको छ । जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा रु दुई लाख बराबरको छ सय किलो किवी फलेको बताउनुभयो । 


अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका  भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ ।  


आयआर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । “हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्”, पुनले भन्नुभयो, “२० हजार बोटमध्ये हाल पाँच हजार बोट फलेका छन् ।” 


छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष एक हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताउनुभयो । 


“पोखराका व्यापारीसँग प्रतिकिलो रु दुई सय ५० का दरले किवी बेच्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।” पुनको बगैँचाका एक सय ३५ किवीका बोट फलेका छन् । 


गत वर्ष २५ वटा नयाँ बिरुवा लगाउनु भएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाउनुभएको छ । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गर्नुभएको छ । 


बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार चार वर्षअघि ४२ जना कृषकलाई आठ सय १५ वटा किवीका बिरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उहाँले बताउनुभयो । 


धेरै पौष्टिकतत्व पाइने किवीको बजारमा माग र खपत पनि दुबै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । 


अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु एक सय पर्छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ । 


प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो ।(

काठमाडौं:  नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्