बिक्री नभएपछि कृषकले सुन्तलाका बिरुवा उखेलेर फाल्न थाले
म्याग्दी | माघ १२, २०७९

म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउनुहुन्छ ।
“गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,” उहाँ भन्नुहुन्छ, “यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेँडा लगाउने तयारी गरेको छु ।” सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छोड्नुभएको छ ।
करिब पाँच रोपनी जमिनमा सुन्तलाको नर्सरी बनाउनुभएकी उहाँ छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झर्नुभएको छ । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्न योग्य हुन्छन् । दुई वर्ष नाघेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जा गुनासो गर्नुहुन्छ ।
“त्यसै लैजाओभन्दा पनि कोही आएनन्,” उहाँ भन्नुहुन्छ “सस्तो भनेर बाहिरबाट रोगी बिरुवा ल्याएर कृषकलाई बाड्दा रोग फैलिएको छ । जिल्ला भित्रै उत्पादन भएको स्वस्थ र हावापानी अनुकुलका बिरुवा नबिकेर फाल्नुपर्ने अवस्था आयो ।” पुर्जासँग ११ हजार सुन्तलाका बिरुवा छन्् ।
बजार बिस्तार हुन नसकेका कारण बिरुवा नबिकेको स्थानीय कृषक दुर्गादत्त सुवेदीको भनाइ छ । वडासदस्य समेत रहनुभएका उहाँका अनुसार फगाममा उत्पादन भएका मध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएका छैनन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।
नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काइएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा छन् । नौ र १० नम्बर वडाका ४ वटा फार्ममा टिमुरका ५० हजार र वडा नम्बर ३ मा दुई लाख तीस हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानिया बताउनुहुन्छ ।
“जिल्लामा उत्पादन भएका बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ,” उहाँ भन्नुहुन्छ “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।”
जिल्लाका स्थानीय तहहरुले गत वर्ष करिब पचास हजार सुन्तलाका बिरुवा बितरण गरेका थिए । बाहिरी जिल्लाबाट ल्याइने बिरुवा सस्तो भएपनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकहरु बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत बिक्रम बस्याल कृषकहरुलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उल्लेख गर्नुहुन्छ
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदल...
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...
पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत...