जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पाेखरा | माघ १३, २०७९

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा:   माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।                                                                                                                                                                                                                                                                                                                                      

“जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवम् होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । 


“अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उहाँले भन्नुभयो । हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उहाँको भनाइ छ । यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् ।


होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उहाँका अनुसार होटल सरोवरमा  जनवरीमा ६० र फेब्रुअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उहाँले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।


होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०÷४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०÷१५ प्रतिशतमा पुगेको बताउनुभयो । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् ।


जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको  र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिनुभयो । उहाँले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवम् अन्य पर्यटक पनि नआएको उहाँको भनाइ छ ।


माघ १ मा काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्