टाइगर कप भलिबल: आर्मीलाई सोझो सेटमा पन्छाउँदै गण्डकी फाइनलमा
पाेखरा | माघ १३, २०७९

पोखरा: साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पहिलो संस्करणको च्याम्पियन गण्डकीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीको जितमा दुई भारतीय खेलाडी नितिन र अंकितसँगै रवि केसी, घनश्याम चौधरी, विवश आले र हिमाल सुनारीले सानदार प्रदर्शन गरे ।
पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकालेको गण्डकीले दोस्रो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा १५–१७ ले पछि परेको स्थिति उल्ट्याएर जित निकाल्न सफल भयो । तेस्रो सेटमा भने सुरुवातदेखि नै अग्रता लिदै २५–१६ को सहज जित निकाल्न सफल भयो ।
गण्डकीका सेटर विवश प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । गण्डकीकै धनश्याम चौधरी स्पाइकर अफ दि म्याच घोषित भए । गण्डकीले लिग चरणमा पनि आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।
अब उपाधिका लागि गण्डकीले शनिबार विभागीय नेपाल एपिएफ क्लबसँग खेल्नेछ । एपिएफले शुक्रबारै नेपाल पुलिस क्लबलाई २५–१०, २५–२१ र २५–१८ को सोझो सेटमा हराएर फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।
शनिबार नै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ उपाधिका लागि एपिएफ र आर्मीबीच शनिबार नै प्रतिस्पर्धा हुनेछ । महिलतातर्फ घरेलु टोली गण्डकी प्रदेशलाई २५–१९, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो ।
महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
स्याङ्जा: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर...
पोखरा: पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदिप...
रसुवा: नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...